काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग छलफल गर्ने भएका छन् ।
पछिल्लो समय उपत्यकामा कोरोनाभाइरस संक्रमण र मृत्युदर बढेपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका सिडियोहरु सीसीएमसीसँग छलफल गर्ने भएका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोरोना भाइरस संक्रमणको पछिल्लो अवस्थाबारे मंगलबार बिहान सीसीएमसीसँग छलफल हुने भएको छ । सीसीएमसीसँगको छलफल लगत्तै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारहरुको बैठक पनि बस्ने तयारी छ ।
साउन २७ गतेपछि भीडभाड हुने क्षेत्रहरुलाई कडाइ गर्ने तयारीबारे छलफल भएको सीडीओ पराजुलीले जनाए ।
आइतबार मात्रै ५५ जनाको मृत्यु भएको छ जुन ४६ दिन यताकै सबैभन्दा उच्च हो । ‘मास्क लगाउने र सामाजिक दूरी पालना गर्नेबारे अहिलेको अनुगमनलाई कडाइ तुल्याउँदै केही क्षेत्रमा कडाइ गर्ने तयारी भएको छ’ सीडीओ पराजुलीले भने ।
सीसीएमसीले स्मार्ट लकडाउन गर्न यसअघि नै सुझाव दिइसकेको छ । सोही सुझावको आधारमा अघि बढ्ने तयारीमा जिल्ला प्रशासनहरु छन् । अहिलेको जारी निषेधाज्ञा साउन २७ गतेसम्म कायमै छ ।










