काठमाडौँ महानगरले भोलीदेखी फोहोर उठाउने भएको छ । मंगलबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलिदेखि उठाउने निर्णय गरेको हो ।
‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘स्थानीयका हामीले गर्न सक्ने समस्या भए हामी समाधान गर्छौ । हामीले समाधान गर्न नसक्ने समस्या भए सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्छौ । तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन ।’
उनले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि बताए । ‘सिसडोलमा फोहोर व्यवस्थापनको काम ०६२ सालदेखि हुँदै आएको छ । त्यसको सबै जिम्मेवारी सहरी विकास मन्त्रालयको हो । काठमाडौँ महानगरपालिकाको जिम्मेवारी भनेको त्यहाँ लगेर फोहोर व्यवस्थापन गर्ने मात्रै हो,’ शाक्यले भने ।








