मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । आज दिउँसो करिब साढे १ बजे भएको दुर्घटनामा परी २३ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । भे १ ख ३१६७ नम्बरको बस आज दिउँसो एक बजेतिर दुर्घटनामा परेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
छायाँनाथ रारा नगरपालिका–७, पिनाटपेन खोलामा बस दुर्घटना भएको हो । सुर्खेतबाट मुगुको गमगढीतर्फ जाँदै गरेको बस दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए ।
घाइते १२ जनालाई उपचारका लागि समिट एअरको विमानमार्फत नेपालगञ्ज लगिएको छ भने बाँकी घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मुगुको ताल्चा विमानस्थलतर्फ पठाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । सामान्य घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका साथै सबै सुरक्षा निकायका प्रमुखहरु खटिरहेको जनाइएको छ ।








