म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्ष जेलसजाय सुनाइएको छ । म्यानमारको सैनिक अदालतले उनलाई थप चार वर्ष जेलसजाय सुनाएको हो । उनलाई बिनालाइनसेन्सको ‘वाकी टकी’ राखेको आरोपमा दुई वर्ष र कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा दुई वर्ष गरी चार वर्ष जेलसजाय सुनाइएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजीराले जनाएको छ ।
गतमहिना उनलाई कोभिड-१९ को मापदण्ड उल्लंघन गरेको आरोपमा चार वर्ष जेलसजाय सुनाइएको थियो । सैन्य ‘कू’ पछि उनीमाथि दर्जनभन्दा बढी आरोपहरू लागेका छन् । सुचीले भने ती सबै आरोपहरू कपोकल्पित भएको भन्दै आफूले त्यसलाई अस्वीकार गरेको बताएकी छन् ।










