कोभिड खोप व्यवस्थापनमा अझै समस्या, बिज्ञ भन्छन – खोप केन्द्रबाटै सङ्क्रमण फैलने खतरा छ



सरकारले कोभिड खोपको बूस्टर मात्रा आइतवारदेखि वितरण गर्न थाले पनि कोभिड खोप केन्द्रहरुको राम्रो ब्यबस्थापन गर्न नसकेको पाइएको छ ।खोप लगाउने ठाउहरुमा ठुलो मात्रामा भिडभाड हुने गरेकोले खोप केन्द्रहरुबाट पनि सङ्क्रमण फैलन सक्ने बिज्ञहरुले चिन्ता प्रकट गरेका छन ।

काठमाण्डू उपत्यकाका खोप केन्द्रहरूमा बूस्टर डोज लगाउन गएको ठाउँमा घण्टौँ लाममा बस्दा पनि खोप लगाउन नपाएको गुनासो सर्वसाधारणले गरेको विवरणहरू आएका छन्।कोभिड  विरुद्धको नियमित खोप लगाउने मानिसको भिड घट्न नसकेका बेला बूस्टर मात्रा लगाउने समेत थपिएपछि खोप केन्द्रहरूबाटै सङ्क्रमण फैलिन सक्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका हुन्।

भाइरसविज्ञ डा. लुना भट्ट शर्मा भन्छिन्, खोप लगाउन सुरु गरिएको छ, तर सबैभन्दा पहिला त्यसलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ। किनभने खोप लगाउन जानेको भिडले नभएकालाई पनि सङ्क्रमण हुने डर भयो।

त्यसबारे ख्याल गरेरै विगतको सिकाइ र अनुभवका आधारमा खोप केन्द्रहरू विस्तार गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।विशेषतः महानगरपालिकाले प्रत्येक वडामा एउटा खोप केन्द्र, उपमहानगरपालिकाले दुईवटा वडालाई मिलाएर एउटा, नगरपालिकाले पाँचवटा र गाउँपालिकाले तीनवटा खोप केन्द्र तोक्न सक्ने र मागअनुसार अतिरिक्त केन्द्र खोल्न सक्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताउँछन्।

विगतमा गाभिएका खोप केन्द्रलाई पुनस् टुक्राउनुपर्ने आवश्यकता पनि देखिएको उनले बताए।विगतमा धेरैजसो जिल्लामा खोप कार्यक्रम सदरमुकामकेन्द्रित थिए र सीमित सङ्ख्यामा थिए।कोभिडबाहेकका नियमित खोप पनि जारी राख्नुपर्ने भएकाले स्वास्थ्यका मापदण्ड अपनाएर र खोप केन्द्र विस्तार गरेर खोप लगाउनुको विकल्प नरहेको सहप्रवक्ता अधिकारी बताउँछन्।

सरकारले कोभिड खोपको बूस्टर मात्रा आइतवारदेखि वितरण गर्न थालिने निर्णय गरेको थियो। पहिलो चरणमा बूस्टर खोप अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूलाई दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार अग्रपङ्क्तिमा रहनेमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, महिला स्वयंसेविक, विमानस्थलमा खटिने कर्मचारी, सरकारी कार्यालयका कर्मचारी, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घसंस्थाका कर्मचारी, ब्याङ्किङ क्षेत्रका कर्मचारी, सञ्चारकर्मी, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई मानिएको छ।

बूस्टर डोजबाहेक सरकारले यसअघि नै खोप लगाउन छुटेका १८ वर्षभन्दा माथिका र १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाउने काम जारी छ।त्यति सङ्ख्यामा खोप र त्यसका लागि आवश्यक सामग्री पर्याप्त मात्रामा रहेको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति : माघ ३, २०७८ सोमबार  ७ : २२ बजे