आगामी स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाले सबैको ध्यान तानेको छ । २२ वर्षदेखि उपमहानगरमा कब्जा जमाउँदै आएको एमालेका लागि यो चुनाव प्रतिष्ठाको विषय बनेको छ भने २०४९ सालको स्थानीय चुनावपछि लगातार पराजय व्यहोर्दै आएको कांग्रेस यसपालिको चुनावमा गुमेको साख फर्काउने दाउमा छ ।
लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये बुटवल उपमहानगरमा यसपालिको निर्वाचन एमालेका लागि त्यति सहज नभएको स्वयं एमालेकै नेताहरू बताउँछन् । एमालेबाट फुटेको एकीकृत समाजवादीका कारण मत तलमाथि हुन सक्ने र कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन हुने सम्भावना रहेकाले एमालेका लागि चुनौती देखिएको कतिपयको तर्क छ । एमालेकै एक जिल्लास्तरीय नेता भन्छन्, उम्मेदवार छान्दा विचार पुगेन भने यसपालिको चुनाव एमालेका लागि फलदायी नहुन सक्छ ।
अघिल्लो निर्वाचनमा एमालेबाट शिवराज सुवेदी नगर प्रमुखमा विजयी भएका थिए । उनले कांग्रेसका खेलराज पाण्डेलाई २४ सय मतान्तरले मात्र पराजित गरेका थिए । त्यसबेला माओवादीको करिब ३५ सय मत थपिँदा कम मतको अन्तरमा विजयी भएको र अहिले माओवादीका धेरै नेता कार्यकर्ता नेकपा विभाजनपछि एमालेमा आएको र अहिले एमालेको मत गत निर्वाचनभन्दा धेरै हुने एमाले नेता पन्थीको भनाइ छ ।
तर, हालका मेयर सुवेदीले पाँच वर्षे कार्यकालमा मतदातामाझ राम्रो छाप छोड्न नसकेको उनलाई नजीकबाट चिन्नेहरु बताउँछन् । मतदातामाझ हालका प्रमुखले काम गरेनन् भन्ने मनोभावना विकास भएको छ, त्यसैले सुवेदीलाई मेयरमा दोहोर्याउने हो भने चुनाव विपक्षीको पोल्टामा जान सक्छ, एमाले नगर कमिटीका एक नेताले भने ।
बुटवल उपमहानगरपालिकाको मेयरका लागि एमाले र कांग्रेसका गरेर १२ जनाले आकांक्षा देखाएका छन् । नगरप्रमुख सुवेदी आफैँ दोहोरिन चाहेका छन् । पार्टी महासचिव शंकर पोखरेलसँग निकट मानिएका कारण पार्टीले उनलाई अगाडि सार्ने संभावना पनि छ । त्यस्तै उपप्रमुख गुमादेवी आचार्यले पनि प्रमुखमा दावी गरेकी छन् ।
अघिल्लो चुनावमा दावेदार रहेका एमाले प्रदेश कमिटी सदस्य बाबुराम भट्टराई र युवा नेता तथा प्रदेश कमिटी सदस्य गोपाल राना पनि मेयरका आकांक्षी छन् । आफूले टिकट पाए चुनाव जितेर देखाइदिने भट्टराई बताउँछन् । राना भने जनजातिको मत तान्न सक्ने र युवामाझ लोकप्रिय छवि बनाएका कारण बलिया दावेदार हुन् । यी दुईमध्ये एकले टिकट पाए एमालेका लागि चुनाव सहज हुने एमाले युवा नेता ध्रुव आचार्य बताउँछन् ।
अघिल्लो पटक पार्टीका जिल्ला अध्यक्ष रहेका सुवेदीले टिकट पाएकाले यसपाली आफूलाई दिनुपर्ने माग एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले पनि गरेका छन् । जिल्ला अध्यक्षलाई टिकट दिएर एउटा नजीर बसाल्ने हो भने भविष्यमा पनि सहज हुन्छ, उनले भने ।
कांग्रेसमा भने अघिल्लो निर्वाचनमा पराजित खेलराज पाण्डे दोहोरिने सम्भावना बलियो छ । उनी अहिले पार्टीको बुटवल नगर सभापति छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष रहेका कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले पनि मेयरको दाबी गरेका छन् ।
त्यस्तै कांग्रेसका प्रदेश सदस्य रामबहादुर कार्की, हाल अव्यवस्थित बसोबास आयोगका जिल्ला अध्यक्ष रहिसकेका हरिबहादुर आचार्य क्षेत्री, व्यवसायी सुरेन्द्र श्रेष्ठ, चुन्नुप्रसाद पौडेलले पनि बुटवलमा मेयरको आकांक्षा व्यक्त गरेका छन् । बुटवल एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर रहेको र कांग्रेस नेता बालकृष्ण खाँणले पनि यहाँको चुनावलाई प्रतिष्ठाको विषय बनाएकाले आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।