बिनोद चौधरीले गरे एकीकृत बस्ती हस्तान्तरण



नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य एवं चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीको उद्घाटन गरेका छन् ।गिरानचौरमा आयोजित एक कार्यक्रमकाबीच चौधरीले उक्त एकीकृत बस्तीको उद्घाटन गरि निर्माण भएका ६२ घरहरु स्थानीय नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिमा आबद्ध भएका परिवारलाई हस्तान्तरण गरेका हुन् ।

२०७२ सालको भूकम्पले घर भत्काएपछि कष्टकर जीवन बाँचिरहेका गिरानचौरवासीले सहयोग मागेपछि चौधरी फाउण्डेसनले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँगको सहकार्यमा उक्त एकीकृत बस्ती निर्माण गरेको हो । एकीकृत बस्ती तथा संस्कृति संरक्षण समिति मातहतका परिवारले श्रमदान र स्थानीयस्तरमा उपलब्ध निर्माण सामाग्रीको संकलनमा सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले फाउण्डेसनले एकीकृत बस्तीको अवधारणा कार्यान्वयनमा ल्याएकोमा खुशी व्यक्त गरे । उनले भुकम्प पीडितलाई सुन्दर बस्ती उपहार दिन पाउदा सन्तोष लागेको बताउदै भविष्यमा पनि यस कार्यक्रमलाई सिमान्तकृत वर्गमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

हस्तान्तरण गरिएको एकीकृत बस्तीमा निर्माण गरिएका घरमा तीन कोठा, शौचालय र करेसाबारी रहेको छ । घर निर्माणमा प्रयोग भएका करीब २ लाख इट्टा गाउँमै तयार गरिएको हो । यसका लागि आवश्यक उपकरण, तालिम र अन्य सामाग्री चौधरी फाउण्डेसनले प्रदान गरेको थियो । घरका जग पछि आवश्यकताअनुसार दुई तलासम्म थप्न मिल्ने गरि बलियो बनाइएको छ । यसको अलावा फाउण्डेसनले बस्ती नजिकको महाकाली माध्यमिक विद्यालयमा डिजिटल क्लासरुम स्थापना गरेको छ भने स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि आवश्यक सामाग्री र उपकरणहरु उपलब्ध गराउने घोषणा पनि गरेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङले नम्डोललिङ एकीकृत बस्ती आफ्नो जिल्लाकै गहनाको रुपमा रहने बताउदै यसको निर्माण र स्थानीयवासीको जीवनस्तर उकास्न सहयोग गरेकोमा चौधरी फाउण्डेसन र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : चैत्र १३, २०७८ आइतबार  ९ : ०७ बजे