नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसले पूर्ण बहुमत नल्याएसम्म नेपाल सही बाटोमा जान नसक्ने बताएका छन् ।नुवाकोट जिल्लाको लिखु ४ अवस्थित क्षेत्रपाल माध्यमिक विद्यालयको ४८ औं बार्षिकोत्सव तथा छात्रवृत्ति वितरण समारोहमा प्रमुख अतिथिको रुपमा समुद्घाटन मन्तव्य प्रकट गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रवक्ता डा.महतले २०४६ सालमा लोकतान्त्रिक व्यवस्थाको पुनर्बहाली भएपछि नेपाली कांग्रेसले लिएका उदारवादी नीतिहरुले गर्दा देशमा शिक्षा,स्वास्थ्य,बाटोघाटो,खानेपानी र विजुलीको क्षेत्रमा विकास भएको पनि उल्लेख गरे ।कम्युनिष्ट पार्टीहरुले काम हैन कुरा बढी गर्ने गरेको उदाहरण दिंदै उनले भने,“अघिल्लो चुनावमा कम्युनिष्ट पार्टीका नेताहरुले गरेको गफमा सामान्य मतदाता झुक्किदा नेपाली कांग्रेस पराजित भयो । २ बर्षमा चीनबाट रेल ल्याउने, समुन्द्र नभएको देशमा पानी जहाज ल्याउने कुरा गरेर उहाँहरुले चुनाव जित्नुभयो तर ५ बर्षलाई दिएको जनादेश साढे ३ बर्ष पनि टिकाउन सक्नुभएन । पार्टी नै फुट्यो । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न अन्य पार्टीले अनुरोध गरेपछि कांग्रेसको नेतृत्वमा वर्तमान सरकार बन्न पुगेको हो ।”
कांग्रेस प्रवक्ता डा.महतले पूर्ववर्ति नेकपा एमालेको नेतृत्वको ओली सरकारको आलोचना गर्दै कोरोना संक्रमणको समयमा औषधी खरिदमा समेत भ्रष्टाचार गरिएको आरोप लगाए । उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कोरोना विरुद्धको खोप ल्याएर अधिकांश नागरिकले लगाउने अवस्था सिर्जना भएको र मुलुक सामान्य अवस्थामा फर्केको पनि दावी गरे ।“देशमा सुशासन कायम गर्न र विकासलाई गति दिन स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जित्न जरुरी छ। प्रदेश र संघीय संसदको निर्वाचनमा नेपाली कांग्रेसले जित्न जरुरी छ ।”, डा. महतले भने ।
उनले नुवाकोट जिल्लाको विकासलाई गति दिने काम पनि नेपाली कांग्रेसको पालामा भएको उल्लेख गरे । ओली सरकारको पालामा नुवाकोटको बजेट कटौैती भएको प्रसंग निकाल्दै उनले भने,”हिजो डा. रामशरण महतले चुनाव जित्दा नुवाकोटमा अर्बमा बजेट आउथ्यो । ओली सरकारको पालामा त्यो करोडमा झर्यो र त्यै बजेट पनि उपभोक्ता समिति बनाएर बाँडीचुडी खाएको गुनासो आइररहेको छ ।”
फरक फरक समयमा ऊर्जा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएका डा।महतले आफू ऊर्जामन्त्री हुँदा पूर्वी नुवाकोटमा ग्रामीण विद्युतीकरण गरेर नुवाकोटलाई अन्धकारबाट उज्यालोतिर लैजाने प्रयास गरेको पनि बताए ।
उनले नुवाकोट जिल्ला राजधानीको नजिक रहेको र अत्यन्त संभावनायुक्त जिल्ला भएको उल्लेख गर्दै नेपाली कांग्रेसकै प्रयासमा टोखा छरहेको बाटो खुलेको र पिचसमेत भएको तर कम्युनिष्ट सरकारले पर्याप्त बजेट नदिएर मर्मत संभार हुन नसकेको बताए। उनले कांग्रेसको सरकार बनेपछि आफ्नो प्रयासमा १० करोड रुपैया निकासा गराएर मर्मतसंभारलाई गति दिएको दावी गरे ।
कांग्रेस नेता महतले टोखा छहरे सुरुड।मार्ग बनेपछि १० मिनेटमै काठमाडौं पुग्न सकिने र राजधानीको बस्ती नुुवाकोट सर्ने बताउदै त्यसपछि नुवाकोटको जीवनस्तर बढ्ने,स्थानीय कृषि उपजले सही मूल्य पाउने र समृद्ध नुवाकोटको सपना साकार हुने पनि बताए








