स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धन बैठक आज पनि बस्दै छ । सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज बिहान साढे ११ बजे छलफलमा जुट्न लागेका हुन् ।
विशेषगरी महानगरमा सिट बाँडफाँटका विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति नहुँदा सोमबारको बैठक अनिर्णित बनेको थियो ।
कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरसहित पोखरामा पनि दाबी गरेको छ । तर, एकीकृत समाजवादीले पोखरामा दाबी गरिरहेको छ । पोखरामा तत्कालीन एमालेले जितेको थियो ।एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले वक्तब्य जारी गरी पोखरामा मेयर आफूले नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेका छन् ।
माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादीले विराटनगर पाउने करिबकरिब सहमति जुटिसकेको छ ।सरकारका प्रवक्तासमेत रहेका कांगेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा आज सहमति जुट्ने दाबी गरेका छन् ।
आज बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उनको भनाइ छ ।








