नेपाली कांग्रेसले विद्रोही (बागी) उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आज १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गरे ।
उनले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरेरगराएको भए निर्वाचन आयोगमा गएर फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई विजयी गराउनका लागि सक्रिय भूमिका निर्वाह गर्न पनि अनुरोध गरेका छन् ।
तोकिएको समयमा उम्मेदवारी फिर्ता नगरिए विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टी सदस्यतासमेत नरहने गरी निष्कासन गर्ने चेतावनी पनि मुख्य सचिव पौडेलले दिए ।
‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराईन्छ पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
यसअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पनि विद्रोही उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका थिए । तर, केही विद्रोही उम्मेदवारले मात्र उम्मेदवारी फिर्ता लिएका छन् । धेरै ठाउँमा लिएका छैनन् ।










