प्रमुख दलका घोषणापत्रमा जलवायु परिवर्तनका मुद्दा : दिगो हरित अर्थतन्त्रमा कांग्रेसको जोड



आसन्न स्थानीय तहको निर्वाचनका लागि सबै दल तथा तिनका उम्मेदवारले जनसरोकारका विभिन्न विषयलाई उजागर गरी आफ्ना घोषणापत्रमा समेत उल्लेख गरेका छन् ।यसपटकको निर्वाचनमा दलले शिक्षा, स्वास्थ्य, राजनीतिक, आर्थिक, सामाजिक, पूर्वाधार विकास निर्माणलगायत विषयसँगै वन वातावरण र जलवायु परिवर्तनका असरका मुद्दालाई पनि प्राथमिकताका साथ उल्लेख गरेका छन् ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको सङ्कल्प नाम दिइ सार्वजनिक गरेको घोषणापत्रमा जलवायु परिवर्तनले निम्त्याएको सङ्कट बास्तविकता बनिसकेको अवस्थामा यसको प्रभाव न्यूनीकरण र अनुकूलनका लागि योजनाबद्ध कार्यक्रम जरुरी रहेको उल्लेख छ ।

जलवायु परिवर्तनको प्रभावसँग जुध्नसक्ने प्रतिरोधी नगर गाउँको निर्माणका लागि स्थानीय सरकारले यसमा अविलम्ब काम गर्नुपर्ने कांग्रेसको धारणा छ । पेट्रोलियम पदार्थको प्रयोग कम गर्न प्रोत्साहन गर्ने जस्ता नीति स्थानीय तहले अवलम्बन गर्दा जलवायु परिवर्तनको प्रभाव कम हुने मात्र छैन हरित अर्थतन्त्र निर्माणमा योगदान पुग्न गई यो एउटा अवसर नै बन्नसक्ने घोषणापत्रमा उल्लेख छ ।

जलवायु परिवर्तनको सामना र प्रकोपको जोखिम नियन्त्रण गर्न आवश्यक संरचनाको निर्माणका लागि युवालाई प्रयोगात्मक र प्राविधिक सीपमूलक तालिम दिइ रोजगारीको सिर्जना गर्ने, पानीको स्रोतको संरक्षणका लागि प्रत्येक स्थानीय तहमा वृक्षरोपण, पोखरी, हिटीजस्ता रैथाने प्रविधिलाई प्रवद्र्धन गर्ने, अनिवार्य वातावरणीय मापदण्डअनुरुप पानी तथा जोखिमको व्यवस्थापन योजना बनाएर मात्रै सडक निर्माण गर्ने कांग्रेसको सङ्कल्प छ ।

यसैगरी हरित अर्थतन्त्रअन्तर्गत हरेक स्थानीय तहमा स्वच्छ ऊर्जामा आधारित आर्थिक गतिविधि र उद्यमशीलतालाई बढावा दिने, पेट्रोलियम पदार्थको प्रयोगलाई न्यूनीकरण गर्दै नविकरणीय ऊर्जामार्फत दिगो हरित अर्थतन्त्रको निर्माण गर्ने, स्वच्छ ऊर्जाको खपत बढाउन विद्युतीय चुलो, सहरी क्षेत्रमा विद्युतीय सार्वजनिक यातायातको प्रयोग बढाउने, चार्जिङ स्टेशनका लागि सहुलियत दिने कांग्रेसको योजना छ ।

महिलाको ज्ञान र सीपलाई औपचारिक अर्थतन्त्रसँग जोड्दै महिला केन्द्रित नयाँ हरित रोजगारी सिर्जना गर्ने, रैथाने ज्ञान, कला, संस्कृति, प्रविधि, बीउ, रुखबिरुवा र गाईबस्तुका प्रजातिलाई संरक्षण र प्रवद्र्धन गर्ने, स्थानीय पूर्वाधार र संरचनाको निर्माण गर्न मौलिक डिजाइन र स्थानीय सामग्रीको प्रयोग गर्न प्रोत्साहन गर्ने, ‘जडीबुटीयुक्त घर, स्वस्थ गाउँ सहर’ अभियान सञ्चालन गर्ने कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : बैशाख १९, २०७९ सोमबार  ७ : २३ बजे