नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले बुधबार र बिहिबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन् ।
साउन २४ गते राति परेको भीषण बर्षाले नुवाकोट क्षेत्र नं १ को तादी खोलामा आएको बाढीले दुप्चेश्वर ३ राउतबेशी , तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्की पुल , पञ्चकन्या २ आप्र र तादि ५ बाहुनवेशी जोड्ने पक्कि पुल, पञ्चकन्या १ को सिमारा फाँट र लिखु ३ सुर्यमति र १ ढिकुरे जोड्ने पक्की पुलहरु क्षतिग्रस्त भएका छन् ।
आलो पहिरो नथामिएको र सिमसिम पानी परिरहेको बेलामा बाढी पहिरो प्रभावितसंग प्रत्यक्ष भेट्ने,राहत, क्षतिपूर्ति,पुनस्थापना तथा पुननिर्माणका बारेमा छलफल गर्ने उद्देश्यले बाढी पहिरोग्रस्त क्षेत्रमा डा.महत पुगेका थिए । उनले पहिरोबाट अधिक प्रभावित राउतबेशीको निरीक्षण भ्रमणपछि भने, ‘बाढीपहिरोले दुप्चेश्वर ३ राउतबेशीमा विनासलिला मच्चाएको छ । यो प्राकृतिक प्रकोपबाट पीडित र प्रभावित नागरिकहरुलाई राहत तथा विपद्बबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाहरुको पुनर्निर्माणको लागि शीघ्र कदम चाल्न म नेपाल सरकारसंग माग गर्दछु ।’
महतले बाढीबाट क्षतिग्रस्त तादी खोलामा निर्मित बुद्धभूमि हाइड्रोपावरको पनि निरीक्षण गरे । निरीक्षणपछि उनले भने, ‘बाँधस्थल, क्यानल , पावरहाउसमा समेत बाढीले क्षति पुर्याएको छ । अहिले उत्पादन बन्द भएको छ । बाढी पहिरोबाट प्रभावित बिद्धुत आयोजना सुचारु गर्न आवश्यक नीतिगत र अन्य सहयोगको ब्यबस्था गर्न म नेपाल सरकारसंग अनुरोध गर्दछु।’
बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण र प्रभावित नागरिकहरुको भेटपछि डा।महतले स्थानीय जनप्रतिनिधिहरुसंग राहत,पुनस्थापना र पुनर्निर्माणको बारमो छलफल पनि गरे ।
उनले स्थानीय जनप्रतिनिधिहरुलाई पहिले पहिरो र बाढीले पुर्याएको क्षतिको यथार्थ विवरण संकलन गर्न, प्रभावितहरुको सूची तयार पार्न र क्षतिग्रस्त भएका संरचनाहरु मध्ये सानातिना र थोरै रकमले हुने मर्मतसंभार पालिकाको बजेटबाट सम्पन्न गर्न सुझाव दिए । डा. महतले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाको हकमा प्रदेश सरकार र संघीय सरकारसंग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो सहयोग गर्ने वचन दिएका थिए ।










