काठमाडौं, ३ भदौ । आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन गठित गठबन्धनको कार्यदलले अहिलेसम्म भएका गरेका कार्यविवरण शीर्ष नेताहरूलाई बुझाएको छ ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा कार्यदलमा भएको छलफलको प्रगति प्रस्तुत भएको र नेताहरुले त्यसबारे धारणा राखेको जानकारी दिए ।
‘आजको बैठकमा कार्यदलमा भएको छलफलको निष्कर्षहरू प्रस्तुत भयो । नेताहरुले पनि त्यसबारे धारणा राख्नुभयो,’ कार्कीले भने, ‘नेताहरुले कार्यदलले नै साझा धारणा बनाउन र कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको छ ।’
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले साझा अवधारणा निर्माणको जिम्मा कृष्ण सिटौला नेतृत्वको कार्यदललाई दिने निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाका लागि साझा अवधारणा निर्माणको जिम्मा सिटौला नेतृत्वको कार्यदललाई दिएको हो ।
कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की कार्यदलले साझा अवधारणा बनाएपछि फेरि शीर्ष नेता बस्ने बताएका छन् ।










