राजु गुरुङको मुद्दा माथेमा र रेग्मीको संयुक्त इजलासमा



सत्ता गठबन्धनबाट रुपन्देही २ मा उमेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उमेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेसी तोकिएको छ ।

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल उमेदवार रहेको उक्त क्षेत्रमा उनले गुरुङको उमदवारी खारेज गर्नका लागि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएपछि गुरुङको उमेदवारी खारेज भएको थियो ।

बैंकिङ कसुरमा दोषी रहेको पाइएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उमेदवारी खारेज गरेको थियो । जसको विरुद्धमा गुरुङले सर्वोच्चमा हालेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

गत आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले रुपन्देही २ का निर्वाचन अधिकृतको कार्यालयले गरेको गुरुङको उमेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यन्वयन नगन अल्पकालीन आदेश जारी गरेको थियो ।

सोही रिटमा अन्तरिम आदेशको विषयमा सुनुवाइ गर्न आज (बुधबार) न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी परेको छ । आजको सुनुवाइपछि अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा इजलासबाट आदेश हुनेछ ।

प्रकाशित मिति : कार्तिक २, २०७९ बुधबार  ११ : ३५ बजे