निर्वाचनपछि तीन तहमा गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाँण



गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आम निर्वाचनपछि सङ्घीय सरकार र प्रदेश सरकार गठबन्धनकै बन्ने दावी गरेका छन् । स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारमा सहमति गरेर देशमा शान्ती बहाल एवं जनताको जीवनस्तर सहज तुल्याउनका लागि नै गठबन्धन आवश्यक भएको खाँणले बताए ।

पाँच दलीय गठबन्धनमा कांग्रेसका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारसमेत रहेका खाँणले सिद्धार्थनगर नगरपालिका–६ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा भने, “देशको शान्ती, स्थायित्व, स्थिरता र विकास नै अहिले देशको मूल मुद्दा हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गणतन्त्रको प्रतिफल नेपाली जनताले प्राप्त गर्नुप¥यो, यी सबैको प्राप्ती नै पाँच दलीय गठबन्धनको मूल योजना हो ।”

नेपालमा शान्ती, राजनैतिक स्थायित्वको लागि विभिन्न राजनैतिक विचारधारा बोकेका दलको बिचमा सहमति र सहकार्य भएर नै गठबन्धन बनाइएको उनले बताए । “जुन पार्टीले सरकार बनाउँछ, उसैले नै विकासको निति निर्माण गर्दछ ।” उनले भने “यस क्षेत्रको विकासको लागि जिल्लाको विकासको लागि पाँच दलीय गठबन्धनलाई सहयोग पु¥याउन अपिल गर्दछु ।” सीमामा बसेर देशको रक्षा गर्ने नै असली राष्ट्रवादी भएको बताउँदै खाँणले यस्ता राष्ट्रवादीको सम्मान गर्न गठबन्धनले कुनै प्रकारको कमिकमजोरी नगर्ने बताए ।

प्रकाशित मिति : कार्तिक ४, २०७९ शुक्रबार  ७ : १० बजे