संविधानको रक्षा गर्न गठबन्धन : प्रधानमन्त्री देउवा



प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको बताएका छन् । विराटनगरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको प्रष्ट पारे ।

प्रधानमन्त्री देउवाले आशन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त गर्दै भने, “विकास र परिवर्तनका निम्ति यो गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ ।” रुख, कलम र गोलाकार भित्रको हँसिया हथांैडा चिह्नमा भोट हाल्न कार्यकर्तामा अन्योलता आउन नहुने बताउँदै उनले गठबन्धनमा उम्मेदवारलाई अत्यधिक भोट हालेर जिताउन अपिल गरे ।

भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले बहुमत ल्याएमा अहिले टिकट नपाएका नेताहरुले अवसरै अवसर पाउने बताए।

उनले आफूहरुले जितेर बहुमतको सरकार बनेमा अहिले अवसर नपाएकाहरुलाई राजनीतिक नियुक्ति, संवैधानिक आयोगमा नियुक्ति र राजदूत नियुक्तिमा अवसर दिने बताएका हुन् ।

चुनावपछि अवसर पाउँदा अहिले असन्तुष्टहरु पनि खुशी हुने प्रचण्डले बताए । ‘त्यसकारण अवसरै अवसर प्राप्त गर्ने, अहिले भाँचिएका अलिअलि थिचिएका, अलि अलि अध्यारो अनुहार भएका साथीहरु पनि सरकार बनेपछि नियुक्ति पाइसकेपछि उज्याला हुन्छन्’ प्रचण्डले भने ।

प्रकाशित मिति : कार्तिक ५, २०७९ शनिबार  ७ : ०४ बजे