मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली चलचित्रमा पनि भित्रीदै छ नँया प्रबिधी



काठमाडौं । नयाँ प्रविधि भित्रिएसँगै पछिल्लो समय नेपाली चलचित्रको स्तरोन्नति भइरहेको छ । दर्शकको रुचि नेपाली चलचित्रप्रति पनि बढिरहेको छ । विश्वबजारमा प्रविधिको विकाससँगै चलचित्र क्षेत्रमा समेत निकै प्रगति भएको छ । यसको प्रभाव नेपाली चलचित्रमा पनि परेको छ । बलिउड तथा हलिउडमा प्रयोग भइरहेका नयाँ नयाँ प्रयोग नेपाली चलचित्रमा हुन थालेको छ ।

हलिउड तथा बलिउड चलचित्र खिच्ने विधि प्रयोग गरेर निर्देशक प्रदीप श्रेष्ठले ‘ब्ल्याक’ बनाउँदै छन् । यो चलचित्रको भिएफएक्स एक वर्ष लगाएर बनाइएको निर्देशक श्रेष्ठले बताए । उनी भने, ‘फ्लोरमा जति खर्च र मिहिनेत गरियो, त्योभन्दा बढी त प्रविधिसँग जुध्नुपर्यो ।’ अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रलाई लैजान स्तरीय बनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘बिनाकन्जुस्याइँ भिएफएक्समा लगानी र समय खर्चिएको हो ।’

चलचित्रमा समावेश गीत ‘पल पल हरपल’ को भिडियोमा पनि भिएफएक्स प्रयोग गरी दर्शकले प्राकृतिक देख्ने दृश्य निर्माण गरिएको निर्देशक श्रेष्ठले बताए । उनले थपे, ‘छायांकनलाई असम्भव तर पर्दामा प्राकृतिक देखिने दृश्य नेपाली चलचित्रमा पनि प्रयोग गर्न र देखाउन सकिन्छ भनेरै केही नवीनतम प्रयोगलाई उच्च प्राथमिकतामा राखेर ’ब्ल्याक’ निर्माण गरेका हौँ ।’

भिएफएक्सकै कारण छायांकनदेखि पोष्ट प्रोडक्सनसम्मको समय लम्बियो र आधाभन्दा बढी बजेटको हिस्सा यसले लिएको उनले जनाए । चलचित्रमा भिएफएक्स समिर मियाँले गरेका छन् भने उनलाई श्रीकृष्ण श्रेष्ठले साथ दिएका छन् । चलचित्रमा आँचल शर्मा, आकाश श्रेष्ठ, आयुष रिजाल, सुन्दर श्रेष्ठ, सुशील क्षेत्री, धीरेन शाक्य, प्रिया रिजाललगायतका कलाकारको अभिनय छ ।

जेठ ११ बाट प्रदर्शनमा आउने यो चलचित्रको कथा मौनता श्रेष्ठको रहेको छ । आश्मा पाण्डेको निर्माण तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको यो चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, रामशरण उप्रेतीको छायांकन तथा अर्जुन जिसीले चलचित्रको सम्पादन गरेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार  ९ : ४७ बजे