मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यातायात व्यवस्था विभागले दसैं तिहारमा यात्रा गर्ने यात्रु र यात्रुबसको विवरण संकलन गर्ने



२ असोज, काठमाडौं–

व्यवसायीले यो वर्ष नयाँ यात्रु बस नथप्ने भएपछि यातायात व्यवस्था विभागले दसैं तिहारमा चल्ने यात्रुबस र अनुमानित यात्रुको विवरण संकलन सुरु गरेको छ ।

त्यसका लागि यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई विवरण उपलब्ध गराउन आग्रह गरेको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘अहिले सञ्चालनमा रहेका गाडीले दसैँ तिहारमा यात्रु ओसार्न सम्भव छ/छैन, अनुमान गर्न र कति यात्रु हुन्छन् भन्ने यकिन गर्न विवरण संकलन सुरु गरेका छौँ,’ उनले भने । अहिले भइरहेकै गाडीबाट दसैँ तिहारमा घर जाने सबै यात्रुलाई सहज रूपमा सेवा दिन सम्भव नरहेको उनले स्वीकार गरे ।

हरेक वर्ष पाँच सयभन्दा बढी नयाँ बस थप्दै आएका यातायात व्यवसायीले यो वर्ष एउटा पनि नयाँ बस अर्डर गरेका छैनन् । ‘अहिलेसम्म अर्डर नै नगरेकाले नयाँ गाडी आउन त सम्भव नै छैन,’ उनले भने, ‘अन्य विकल्प के हुन सक्छ भनेर पनि छलफल गर्दै छौँ ।’

अन्य विकल्पका रूपमा विद्यालयका बस सञ्चालन गर्ने, सुरक्षा निकाय र संस्थानका गाडी सञ्चालन गर्न आग्रह गर्नेलगायत भए पनि अहिलेसम्म त्यस्तो अभ्यास भएको छैन ।

सिन्डिकेट अन्त्यपछि यातायात क्षेत्र अस्तव्यस्त भएको, बिमालगायतका विषयमा सरकारले स्पष्ट निर्णय लिन नसकेको, बैंकको ब्याज उच्च बनाएकोलगायतका कारण व्यवसायीले नया बस अर्डर नगरेका यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए ।

काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका कम्तीमा १४ लाख मानिस दसैँ र तिहारमा घर जाने अनुमान यातायात व्यवस्था विभागले गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  ५ : ३८ बजे