महानगरीय प्रहरी काठमाडौंले गर्दै आएको ‘काठमाडौं प्रहरी अवार्ड’ स्थगित



१६ असोज, काठमाडौं–

१६ असोज, काठमाडौं–महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले ‘काठमाडौं प्रहरी अवार्ड’ स्थगित गरेका छन् ।

प्रहरी नियमावलीविपरीत भएको जनाउँदै अवार्ड स्थगित गरिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नेपाल बंगलादेश बैंक लिलिटेडको आर्थिक सहयोगमा परिसरले गत वैशाखबाट अवार्ड वितरण गर्दै आएको थियो । तत्कालीन परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले यसको सुरुवात गरेका थिए ।

परिसरका प्रमुख एसएसपी वसन्त लामाले तत्कालका लागि अवार्ड वितरण स्थगित गरिएको बताए ।

‘काठमाडौं प्रहरी अवार्ड तत्कालका लागि रोकिएको छ । यसलाई अझ व्यवस्थित गर्नुपर्ने देखियो,’ एसएसपी लामाले भने, ‘यसको अर्थ प्रहरीलाई अवार्ड नै नदिइने भन्ने होइन । सबै बन्दोबस्त अब सरकारी तहबाटै हुने गरी व्यवस्था मिलाइन्छ ।’

परिसरले गत चैतमा बैंकसँग १८ लाख ६० हजार प्राप्त गर्न सक्ने गरी सम्झौता गरेको थियो । उक्त रकमले वर्षदिनसम्म अवार्ड दिने परिसरको योजना थियो ।

निजी कम्पनीसँगको आर्थिक सहकार्यले दैनिक सम्पादन हुने काम र अपराध अनुसन्धानमा समेत प्रभाव पार्न सक्ने ठहर गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत अवार्डको विपक्षमा थिए ।

 

 

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलबार  ५ : २९ बजे