२१ असोज, काठमाडौं–
दसैँ नजिकिँदै गर्दा कामका लागि भारत गएका सुदूरपश्चिम तथा कर्णालीका बासिन्दा घर फर्किन थालेका छन् ।
दक्षिणी नाका कैलालीको गौरीफन्टा र पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीमा घुइँचो लाग्न थालेसँगै भारतीय सुरक्षाकर्मीले सताउन सुरु गरेको उनीहरूले गुनासो गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
भारतका विभिन्न सहरमा काम गरिरहेका सुदूरपश्चिम तथा कर्णालीका बासिन्दाको एक सातादेखि सीमानाकामा घुइँचो लाग्न थालेको हो । गौरीफन्टा नाकाबाट मात्रै दैनिक सात–आठ सय नेपाली फर्किने गरेको सीमामा रहेको त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पूर्ण बोगटीले बताए । ‘आजभोलि त बिहानैदेखि साँझसम्म लर्को हुन्छ,’ उनले भने ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा रोजगारीको अवसर छैन । जसले गर्दा यहाँका बासिन्दा कामको खोजीमा भारत जाने गर्छन् । उनीहरूको आधिकारिक तथ्यांकसमेत छैन । त्यहाँका विभिन्न सहरमा मजदुरी, चौकीदारीलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् ।
भारतमा काम गर्ने अधिकांश सुदूरपश्चिम तथा कर्णालीका बासिन्दा चाडपर्वमा घर फर्किने गरेका छन् । कतिपय असारमा धान रोपेर भारत जाने र दसैँ–तिहारमा फर्किने गर्छन् भने हिउँदे बाली लगाएर फेरि जाने गर्छन् ।
त्रिनगर नाका भएर घर फर्किंदै गरेका बाजुरा कैलासमाडौंका गोकुल बुढा असारमा रोपाइँ सकेर भारत गएका थिए । सिम्लामा स्याउ टिप्ने काम गरेका उनी दसैँका लागि घर फर्किएका हुन् । उनले भने, ‘पाँचजनाको परिवार छ । घरखर्च चलाउन पनि काम गर्नै पर्यो । आफ्नो देशमा केही पाइँदैन ।’ हिउँदे बाली लगाएर फेरि भारत जाने उनले बताए ।