मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानी लिमिटेडको खाल्डोमा खसेर एक युबकको मृत्यु



११ कात्तिक, काठमाडौं–

प्रधानमन्त्री भएलगत्तै केपी ओलीको घोषणा थियो–‘खाल्डाखुल्डीमा परेर अब कसैले ज्यान गुमाउनुपर्ने छैन ।’ प्रधानमन्त्री ओलीले हरेकजसो भाषणमा खाल्डाखुल्डी पुर्ने प्रतिबद्धता दोहोर्‍याएका हुन्छन् । यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उपत्यकाभित्रका सबै खाडल पुर्न पटकपटक निर्देशन दिएका थिए । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

शनिबार कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालयको गेट अगाडि रहेको काठमाडौैं उपत्यका खानेपानी लिमिटेडको  खुला मंगालमा परी डल्लुका ३८ बर्से श्यामसुन्दर श्रेष्ठको ज्यान गयो। अँध्यारोका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ। उनको काठमाडौैं उपत्यका खानेपानी लिमिटेडको‘भल्भलिंक’ निकालिएको स्लाबबाट खसेर गएराति मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी अनिलकुमार खड्काले बताए ।

स्थानीयले खबर गरेपछि बिहान ६ बजे पुगेर प्रहरीले श्रेष्ठको शव खाडलबाट निकालेको थियो। ‘हामीले बिहान ६ बजे मात्रै घटनाबारे थाहा पायौं, त्यहाँ पुग्दा श्रेष्ठको मृत्यु भइसकेको थियो’, डीएसपी खड्काले भने ।

केयूकेएलको लापरवाहीले यस्तो घटना भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बताए। ‘खानेपानीको पाइप लाइनको चाबी बेलाबेला खोल्नुपर्ने रहेछ, तर काम सकेपछि खाल्डो नपुर्दा दुर्घटना भयो’, महर्जनले भने। घटनालाई नगरपालिकाले गम्भीर रूपमा लिएको पनि उनले बताए । ‘अहिलेलाई त त्यो खाल्डो छोपियो। फेरि भोलि त्यस्तो घटना नहोस् भन्नेमा गम्भीर छौं। यो विषयमा नगरपालिकाले भोलि नै छलफल गर्छ’, उनले भने ।

मेलम्ची र केयूकेएलका पाइप अव्यवस्थित रहेका कारण जोखिम बढ्दो छ। खानेपानी, ढल निकास, विद्युत् र टेलिकमले खनेका खाडल त्यसै छाड्दा घटना हुने गरेका सडक विभागले गुनासो गरेको छ ।

मेलम्चीको काम पूरा नभएसम्म खाल्डा पुर्ने काम नसिकिने समेत विभागले जनाएको छ। गत २०७४ असार ३० गते तारकेश्वर नगरपालिका–१० नेपालटारमा ढलमा परेर ११ वर्षीया विनीता फुयाँलको ज्यान गएको थियो। सोही समयमा सामाखुसीको खुला ढलमा खसेकी १३ बर्षिया सत्या सापकोटालाई स्थानीयले उद्धार गरी बचाएका थिए। समयमै काम नसक्दा उपत्यकाका सडकमा खाल्डाखुल्डी धराप बनेर रहेका छन्। ढल मात्र नभई इनार र खानेपानीका भ्वाङसमेत खुलै छन् ।

सडक विभाग महानिर्देशक रवीन्द्र श्रेष्ठले खाल्डाखुल्डी पुर्ने अभियानमा लागेको बताए। सडक पिच गर्न केयूकेएलले पहिले पानीको ‘लिकेज’ टाल्नुपर्ने उनको भनाइ छ। ‘केयूकेएललाई लिक टालिदिनुहोस् भनेको छु, लिक टालियो भने हामी कात्तिकभित्रै सडक पिच गर्छौं। तर, मेलम्चीको काम पुरा नभएसम्म खाल्डा पुर्न सकिन्न’, उनले भने ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७५, आइतबार  ३ : ५८ बजे