हिन्दु धर्मका बारेमा जनमत संग्रह हुनुपर्छ : कांग्रेस महामन्त्री शशांक कोइराला



काठमाडौं मंसिर, ७–

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले   हिन्दु धर्मका बारेमा जनमत संग्रह गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा  आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले आफू हिन्दु धर्मको पक्षमा रहेको उल्लेख गर्दै मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने कि नबनाउने भन्ने विषयमा निर्णय लिन जनमत संग्रह गर्न सरकारसँग माग गरे ।
उनले हिन्दु धर्मलाई सबैभन्दा उत्कृष्ट धर्मको संज्ञा समेत दिए ।

महामन्त्री कोइरालाले हिन्दु धर्मले सबैलाई स्वतन्त्र बनाउने उल्लेख गर्दै त्यस सम्बन्धमा जनताको राय लिन पनि जनमत संग्रहमा जानुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

काँग्रेस महामन्त्री कोइरालाले हिन्दु धर्मले भगवान आफै भित्र खोज्न भनेको उल्लेख गर्दै धर्मलाई निरपेक्ष वा सापेक्षताको आँखाले हेर्न नहुने तर्क पनि गरे ।
संवैधानिक व्यवस्था अनुसार मुलुक धर्म निरपेक्ष राष्ट्र हो । तर, त्यस सम्बन्धमा जनताले आफ्नो निर्णय लिन जनमत संग्रहमा जान उपयुक्त हुने महामन्त्री कोइरालाको भनाइ छ ।

 

प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार  १० : ४२ बजे