काठमाडौं मंसिर, ९–
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दुई महिनाभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन नहुने बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले थप गरिएको समयभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसक्ने दाबी गरेका हुन् ।
पार्टी नेतृत्वले विधान विपरित नेपाल विद्यार्थी संघको वर्तमान पदाधिकारीको समय थप्ने काम गरेको भन्दै विद्यार्थी नेताहरुले नेविसंघलाई विधान अनुसार चलाउन माग गरेका छन् । विद्यार्थीको यस्तो किसिमको माग गरिरहेका बेला महामन्त्री कोइरालाले विद्यार्थीको मागमा ऐक्यबद्धता जनाउँदै थप गरिएको समयभित्र महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिएका हुन् ।
नेपाल विद्यार्थी संघको थप गरिएको कार्यकाल पनि सकिएपछि अघिल्लो केन्द्रीय समिति बैठकले वर्तमान पदाधिकारीको समय दुई महिना थप गरेको थियो। यसअघि विधानअनुसार नेविसंघको दुई वर्षमा महाधिवेशन गराउन नसकेपछि वर्तमान पदाधिकारीको समय ३ महिना थप गरिएको थियो।