सरकार पुर्ण रुपमा असफल भयो: कांग्रेस नेता प्रकाशमान सिंह



काठमाडौं मंसिर, २१–

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली नेतृत्वको सरकार पूर्ण असफल भएको आरोप लगाएका छन् ।

शुक्रबार स्वर्गीय नेता जुद्धरत्न बज्राचार्यको स्मृतिमा कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले आफूले केही काम गर्न नसकेर प्रधानमन्त्री ओली आत्तिएर बुद्धिजीवीहरुप्रति खनिएको बताए ।

उनले सरकारका कामबारे सत्तारुढ दलका नेताहरुकै अभिव्यक्तिबाट वर्तमान सरकारबाट केही पार लाग्दैन भन्ने निष्कर्ष आइसकेकाले सरकार कतिको बलियो रहेछ भन्ने स्पष्ट भइसकेको बताए। नेता सिंहले प्रमुख प्रतिपक्षी दलको हैसियतले कांग्रेसले पनि प्रभावकारी भूमिका खेल्न नसकेको स्वीकारे । उनले अब कांग्रेसले सरकारलाई सशक्तरुपमा खबरदारी गर्ने बताए।

काठमाडौंमा तत्काल प्रभावकारी कार्यक्रम तय गरेर आन्दोलनमा उत्रिन नेता कार्यकर्तालाई निर्देशन पनि दिए। सरकारले सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनाउन थालेकाले अब आफूहरु टुलुटुलु हेरेर नभई सशक्त प्रतिवादमा उत्रिने नेता सिंहको भनाइ थियो ।

प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार  ७ : १५ बजे