मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली ब्यस्त,नेकपा स्थायी समिति बैठक स्थगित



काठमाडौं पुस, ३–

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बुधबारसम्मका लागि बैठक स्थगित गरिएको नेकपाले जनाएको छ । भोलि बिहान ८ बजे पुनः पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठक मंगलबार ३ घण्टा पनि नबस्दै स्थिगित भएको हो ।

मंगलबार बिहान साढे ८ बजे सुरु भएको बैठक ११ः१० सम्म बसेको थियो । मंगलबारको बैठकमा स्थायी समिति सदस्यहरु केशब बडाल, टोपबहादुर रायमाझी, भीम बहादुर रावल, योगेश भट्टराई, शंकर पोख्रेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी, पृथ्वीसुब्बा गुरुङ लगायतले धारणा राखेको महसाचिव विष्णु पौडेलले जानकारी दिए । उनीहरुले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा आफ्ना धारणाहरु राखेका थिए । नेताहरुले पार्टी नेतृत्व र सरकारको काम गराईप्रति आलोचना गरेका छन् ।

हिजोको बैठकमा धारणा राख्ने सदस्यहरुले पनि नेतृत्व र सरकारको खरो आलोचना गरेका थिए । फरक प्रतिवेदन पेश गरेका वामदेव गौतम नेतृत्वप्रति निकै आक्रामक बने । उनले संविधान संशोधन गरेर भएपनि दुई जना प्रधानमन्त्री हुने व्यवस्था गर्न अध्यक्ष ओलीलाई चुनौती दिए ।

आफूले पेश गरेको प्रतिवेदनमा एक व्यक्ति, एक पदको व्यवस्था हुनुपर्ने माग गरेका उनले सरकारको नेतृत्व ओलीले र पार्टीको नेतृत्व प्रचण्डले गर्नुपर्ने बताएका थिए । त्यसको भोलिपल्ट भएको एउटा कार्यक्रममा अध्यक्ष ओलीले ‘संविधानमा व्यवस्था नभएर मात्रै हो नत्र दुवै जना प्रधानमन्त्री हुन्थ्यौँ’ भनेर जवाफ दिएका थिए ।

ओलीले जवाफले आफूलाई अपमानित गरेको भन्दै गौतमले बैठकमा ‘तपाईसँग दुई तिहाई बहुमत छ, संविधान संशोधन गरेर दुई जना प्रधानमन्त्री हुने व्यवस्था मिलाउनुहोस्’ भन्ने चुनौती दिएका थिए । यस्तै अर्का नेता घनश्याम भुसालले पनि आफूलाई कारवाही गरेर देखाउन चुनौती दिए । पार्टी अध्यक्ष ओलीले नै गुटबन्दी चलाएको दाबी गर्दै उनले आफूलाई फरक गुटको भएकै कारण कुन विधान अनुसार कारवाही गर्न मिल्छ, गुर्नस् भनेर चुनौती दिएका थिए ।

पछिल्लो समय नेकपाभित्रको असन्तुष्टि सतहमा आएको छ । गएको जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पहिलो पटक स्थायी समितिको बैठक बसेको हो । सदस्यहरुले बोल्ने क्रम सकिएपछि अध्यक्षले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३ पुस २०७५, मंगलबार  ७ : २२ बजे