सङ्घीय संसदको तेस्रो अधिवेशन आज अपराह्नबाट सुरू



काठमाडौं पुस, ११–
आजदेखि सङ्घीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सुरू हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्। बुधबार अपराह्न ४ बजे संसद भवन नयाँ बानेश्वरमा संसदको बैठक बस्न लागेको हो ।
नेपालको संविधानले सरकारको सिफारिसमा राष्ट्रपतिलाई सङ्घीय संसदको अधिवेशन आह्वान र अन्य गर्ने अधिकार प्रदान गरेको छ। संसदको हिउँदे अधिवेशनका रूपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा लिने गरिन्छ। आज संसदमा कर्मचारी समायोजनसम्बन्धी अध्यादेश प्रस्तुत हुँदैछ।
आगामी फागुन २१ गते अर्थात् (सङ्घीय संसद्को पहिलो बैठक बसेको एक वर्षभित्र) नेपालको संविधानसँग बाझिने कानुन नयाँ ल्याएर होस् वा संशोधन गरेर होस् संविधानसम्मत बनाई सक्नुपर्ने कार्यभार रहेको हुँदा यो अधिवेशन निकै महत्त्वपूर्ण रहेको छ।

एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ।

संसद्को पहिलो बैठकमा संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख र अध्यक्षले आ–आफ्ना सदनसमक्ष वाचन गर्नेछन् । अरु विषय भने कार्य व्यवस्था परामर्श समितिले तय गरेको कार्यसूचीका आधारमा सदनका काम कारवाही अघि बढ्ने छ

प्रकाशित मिति : पुस ११, २०७५ बुधबार  ६ : २८ बजे