मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टी एकता गर्न नेकपामा फेरि अर्को कार्यदल



काठमाडौं पुस, १४–
विवाद र आलोचना भएपछि नेकपाको स्थायी समिति बैठक १४ दिन लम्बियो । पार्टी अध्यक्षद्वयको प्रतिवेदन र प्रधानमन्त्री केपी ओलीको नेताहरूले खुलेर आलोचना गरे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

ओलीले पार्टी र सरकारमा गल्ती गरेको औँल्याउँदै आत्मालोचना गर्नुपर्ने माग गरे, अध्यक्षको राजनीतिक प्रतिवेदनमा पनि आपत्ति जनाए । अन्ततः परिमार्जन गर्ने प्रतिबद्धतासहित प्रतिवेदन पारित गर्दै शुक्रबार बैठक सकिएको छ । बैठकले पार्टी एकताका बाँकी काम सकाउन कार्यदल गठन गरेको छ ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिमा पेस गरेको राजनीतिक दस्ताबेज परिमार्जनसहित पारित भएको छ । २९ मंसिरदेखि सुरु स्थायी समिति बैठक विवादका कारण लम्बिँदै शुक्रबार सकिएको हो ।

बिहीबारको बैठकमा अध्यक्षको दस्ताबेज जस्ताको तस्तै पारित गर्न खोजेपछि नेताहरू वामदेव गौतम, घनश्याम भुसाल र भीम रावलले प्रतिवाद गरेका थिए । उनीहरूले उठाएका विषय दस्ताबेजमा समेट्न शीर्ष नेता प्रतिबद्ध भएपछि शुक्रबारको बैठकले पारित गरेको हो ।

‘ओली–प्रचण्डजीले दस्ताबेज परिमार्जन गर्ने भनेपछि बैठकबाट पारित भयो,’ नेता लीलामणि पोखरेलले भने, ‘तर, कुन–कुन विषयलाई परिमार्जनसहित दस्ताबेजमा समेट्ने भन्ने बुँदागत सहमति भने भएको छैन ।’

एसिया प्यासिफिक समिटमा प्रधानमन्त्रीको उपस्थिति र सरकारको संलग्नताबारे बैठकमा चर्को आलोचना भएको थियो । यो प्रसंगमा कमजोरी भएको आशय दस्ताबेजमा समेट्ने सहमति भएको छ ।

आगामी दिनमा पार्टी र सरकारले गल्ती नदोहो(याउने विषयमा सहमति भएको पोखरेलले बताए । अब दस्ताबेज परिमार्जनसहित अध्यक्षद्वयले सचिवालय बैठकमा पेस गर्नेछन् । सचिवालयबाट पारित भएपछि प्रतिवेदनले पार्टी दस्ताबेजको रूप पाउनेछ ।

बैठकले पार्टी संगठनहरुको एकीकरणको काम पुस मसान्त भित्र सक्ने गरी आवश्यक सुझाव पेश गर्न महासचिव विष्णु पौडेले नेतृत्वको ९ सदस्यीय कार्यदल बनाएको छ ।

कार्यदलको संयोजकमा महासचिव पौडेल र सदस्यहरुमा रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल सदस्य रहेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७५, शनिबार  २ : ५६ बजे