मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकीहरु नेपालमा अन्य देशका नागरिकभन्दा ३० दिन बढी बस्न पाउने



काठमाडौं पुस, १७–नेपाल र अमेरिकाबीच पर्यटक भिसा शुल्क र अवधिमा समानता कायम भएको छ । अमेरिकीले १ सय ६० अमेरिकी डलरमा ५ वर्षको बहुप्रवेशी नेपाली भिसा पाउने छन् ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अमेरिका र नेपालबीच पर्यटक भिसामा भएको पारस्परिकताको निर्णय मंगलबार (जनवरी १) बाट कार्यान्वयन हुने बताए ।

उनले भने, ‘यसबारे हामीले सम्बन्धित निकायमा पत्राचार गरिसकेका छौं ।’ सन् २०१९ जनवरी १ देखि पर्यटक भिसामा नेपाल आउने अमेरिकीहरू एक भिसा वर्षमा १ सय ८० दिन बस्न पाउनेछन् । यसअघि उनीहरू अन्य देशका नागरिकजस्तै पर्यटक भिसामा १ सय ५० दिन मात्र यहाँ बस्न पाउँथे ।

नेपाल र अमेरिकाबीच पर्यटक भिसामा पारस्पारिकता कायम भएकाले अमेरिकीहरू अन्य देशका नागरिकभन्दा ३० दिन बढी बस्न पाउने भएका हुन् ।

नेपालीले समेत अब १ सय ६० अमेरिकी डलरमा ५ वर्षको बहुप्रवेशी भिसा पाउने छन् । यसअघि नेपालले अमेरिकी नागरिकलाई एक भिसा वर्षमा १ सय ५० दिन बस्न पाउने गरी २ सय ४० अमेरिकी डलरमा बहुप्रवेशी भिसा दिँदै आएको थियो ।

अमेरिकीले अनअराइभल सुविधासहितको सय अमेरिकी डलर शुल्कमा ९० दिनको र त्यसपछि प्रतिदिन २ र बहुप्रवेशीबापत्को २० अमेरिकी डलर शुल्कमा ६० दिनको भिसा पाउने गरेका थिए ।

गृह मन्त्रालयले नेपाल र अमेरिकाबीच भएको भिसा अवधि र शुल्क कार्यान्वयन गर्न कार्यविधिसमेत बनाएको छ । पर्यटक भिसामा अमेरिकीलाई दिँदै आएको अनअराइभल भिसा प्रणाली भने कायमै छ ।

प्रवेश विन्दुमा उनीहरूले ९० दिनको मात्र भिसा पाउँछन् । उनीहरूले अमेरिका वा अन्य देशस्थित नेपाली दूतावास वा नियोगबाट समेत ९० दिनको मात्र भिसा पाउनेछन् । भिसा पाएको ६ महिनाभित्र नेपाल प्रवेश नगरे रद्द हुने कार्यविधिमा उल्लेख छ ।

परिवर्तित व्यवस्थाअनुसार ५ वर्षको बहुप्रवेशी भिसा पाउन विदेशस्थित नेपाली दूतावास वा नियोगबाट प्रक्रिया अघि बढाउन सक्छन् ।

तर भिसा पाउन भने उनीहरू स्पष्ट उद्देश्यसहित आउनै पर्ने व्यवस्था गरिएको छ । गृहको सिफारिसपछि मात्र उनीहरूले ५ वर्षको बहुप्रवेशी भिसा पाउनेछन् ।

भिसा लिन उनीहरूले कम्तीमा ६ महिना म्याद भएको राहदानी, १० हजार अमेरिकी डलर जम्मा रहेको बैंक स्टेटमेन्ट, स्वास्थ्य बिमाको प्रमाणपत्र र आचरणसम्बन्धी प्रहरी प्रतिवेदन पेस गर्नु पर्नेछ ।

प्रकाशित मिति : १७ पुस २०७५, मंगलबार  २ : ४० बजे