मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसएसपी लामामाथि ‘फेक इन्काउन्टर’ गरेको आरोप, कारबाही गर्न वाईसीएलको माग



काठमाडौं माघ, १०–कोठाभित्र पेस्तोलसहित पक्राउ परेका एक अभियुक्तलाई हत्कडी लगाएर गोली चलाएको घटनाले काठमाडौंका प्रहरी प्रमुख एसएसपी वसन्त लामामाथि छानविन गरी कारबाही गर्न पूर्व माओवादीका नेता र वाईसीएलले माग गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

मंगलबार बेलुका काभ्रे तेमालका अविलास तामाङले प्रहरीमाथि गोली प्रहारको प्रयास गरेपछि बाध्य भएर प्रहरीले आत्मरक्षाका लागि गोली चलाएर नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी लामाले मिडियासामु बताएका थिए ।

तर, उक्त घटना झुटो रहेको र लामाले पक्राउ परिसकेका तामाङमाथि सस्तो प्रचारका लागि गोली चलाएको भन्दै काभ्रे जिल्लाका पूर्व माओवादीका नेताहरु र वाईसीएलले बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेर लामामाथि कारबाहीको माग गरेका हुन् ।

डिएसपी होविन्द्र बोगटीको कमाण्डमा गएको टोलीले बन्द कोठा भित्र रहेका अविलासलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । यो घटनाले एक जनालाई प्रहरीको झण्डै १० जनाको टोलीले नियन्त्रणमा लिन कोठाभित्रै गोली चलाउनु पर्ने प्रहरीको दावी नै शंकास्पद र झुटो बनाएको छ ।

काभ्रे जिल्ला वाइसिएलका इन्चार्ज समेत रहेका तामाङ कुनै समय प्रहरीकै सुराकी थिए । अर्का सुराकी राम तामाङ नाम गरेका व्यक्तिको सूचनाका आधारमा डिएसपी बोगटीको टोलीले उनलाई हतियारसहित पक्राउ गरेको थियो ।

दुबै सुराकीबीच विगतदेखि नै विवाद बढ्दै गएको र एकले अर्कालाई फसाउने योजना अन्तर्गत उक्त घटना भएको भन्दै अविलासको तर्फबाट गृहमन्त्रीसामु पूर्व माओवादीका नेताहरुले घटनाको छानविन गर्न दबाब दिएका छन् । उनीहरुहरुले एसएसपी लामा, डिएसपी बोगटी र ईन्स्पेक्टर अनिल ठकुरीमाथि कारवाहीको माग गरेका छन् ।

गोली लागेका अविलासले उक्त हतियार आफ्नो नभएको र प्रहरीले जवर्जस्ती फसाएको बयान दिएका छन् । आफूलाई हत्कडी लगाएर प्रहरीले खुट्टामा गोली हानेको उनले बताएका छन् ।

तर, वाइसीएल स्रोतका अनुसार उक्त हतियार तामाङकै भएको र आइसीयूमा रहेकी आफ्नी आमाको उपचारका लागि खर्च नपुगेर उनले ५० हजारमा हतियार बेच्न खोजेका थिए । उनले उक्त हतियार जनयुद्ध कालदेखि राखे पनि उनी हतियार कारोबारी भने नभएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

त्यसो त काममा भन्दा सस्तो प्रचारमा रमाउन चाहने एसएसपी लामाले काठमाडौं परिसरमा आउने वित्तिकै असावधानीपूर्वक बौद्धको जुवा अखडामा छापा मार्दा दुई जुवाडेको ज्यान गएको थियो । उक्त घटनामा पनि डिएसपी बोगटीको भूमिका शंकास्पद रहेको थियो । बोगटीको टोलीमाथि काम देखाउने नाममा पैसा असुलीमा सक्रिय हुने गरेको आरोप लाग्ने गरेको छ ।

त्यस्तै, केही महिना अघि लामाकै टोलीले सिटिसी मलको चौथो तलामा रहेको सिटिभि मोवाइल कम्पनीका किसान राईमाथि गोली चलाएको थियो । लेनदेनको विवादमा एक महिलाको पक्षमा लागेर परिसरले राईमाथि गोली चलाएको घटना पनि विवादास्पद थियो । गृहमन्त्री थापाको दबाबमा परिसर प्रमुख बनेका एसएसपी लामा कमाण्ड क्षमतामा कमजोर मानिन्छन् ।

तर, एसएसपी लामा एकपछि अर्को विवादमा तानिएपछि स्वयम् गृहमन्त्री नै उनीसँग आक्रोशित बनेको स्रोतले बतायो । लामालाई काठमाडौं प्रहरी प्रमुखबाट हटाउन समेत गृहमन्त्री थापामाथि दबाब बढेको छ ।

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार  २ : ५९ बजे