गगन थापा भन्छन्ः ‘कांग्रेससँग जो जिस्क्यो त्यो सकियो’



काठमाडौं माघ, ११–
संसदबाट सरकारले प्रमुख प्रतिपक्षलाई पेलेर चिकित्सा शिक्षा विधेयक पास गरेपछि नेपाली कांग्रेस आक्रोशित बनेको छ । विधयेक पास भएलगत्तै कांग्रेस नेता गगन थापाले यो विषय सरकार र सभामुखलाई महंगो पर्ने चेतावनी दिएका छन् । सांसद थापाले कांग्रेसको नाराबाजीकाबीच चिकित्सा शिक्षा विधेयक पास भएपछि यसको तीन सन्देश भएको बताए ।
उनका अनुसार पहिलो सन्देश सरकारले आफूसँग फरक मत राख्नेहरुलाई चिन्दैन भन्ने भएको बताए । उनले भने, आजबाट निषेधको राजनीति प्रारम्भ भएको छ ।’

त्यस्तै, दोस्रो सन्देश संसद बैठकअघि भएको छलफलमा सभामुखले सहमति नभए बैठक नै अगाडि नबढाउने र मुठभेड नगर्ने सन्देश दिएको तर, संसद बैठक भएपछि विधेयक पास गर्न लागेर जालझेलपूयर्ण व्यवहार गरेको नेता थापको भनाइ छ । सभामुख सरकारको आदेशपालक जस्तो भएको भन्दै उनले भने, ढाँटेर छलेर सभा चलाउनु जस्तो दुर्भाग्यपूर्ण व्यवहार अरु हुन सक्दैन ।’
र अन्तिम सन्देश भनेको सत्तारुढ सांसदहरुले विधेयकले डा. गोविन्द केसीको ९५ प्रतिशत माग सम्बोधन भएको स्मरण गर्दै सांसद थापाले ५ प्रतिशत कसका लागि ? भनेर प्रश्न गरे । ५ प्रतिशत मागका लागि विपक्षीसँग मुठभेड गर्न र डा. गोविन्द केसीको जीवन लुट्न सरकार तयार भएको भन्दै उनले भने, ‘अब सरकारले जवाफ दिनुपर्छ सरकार शक्तिशाली कि सरकार चलाउने केही व्यापारी शक्तिशाली छन् ?’
विगतमा कांग्रेससँग लड्नेहरु सबै सकिएको स्मरण गर्दै कांग्रेस सांसद थापाले यो सरकार र सभामुखका लागि महंगो पर्ने चेतावनी दिए ।

प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार  १० : १६ बजे