नीतिगत तहमा राजनीतिक दबाव भएपनि अन्यमा प्रहरी नै जिम्मेवारः गृहमन्त्री थापा



काठमाडौं माघ, २९–
गृहमन्त्री रामबहादुर थापाले राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित नगर्न आग्रह गरेका छन् । मंगलबार नेपाल प्रहरीको तालिम केन्द्रमा इन्स्पेक्टरहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले कमजोर कार्यसम्पादनबाट जोगिन प्रहरीले राजनीतिक दबावको बहाना बनाउन नहुने बताए ।
उनले नीतिगत तहमा राजनीतिक प्रभाव भए पनि अन्यमा नरहेको जिकिर गरे ।

गृहमन्त्री थापाले भने, ‘प्रहरीले काम गर्न नसक्दा राजनीतिक दबाव र प्रभावलाई बहाना बनाउनु हुन्न ।’ उनले थपे, ‘नीतिगत तहमा स्वभाविक रूपमा राजनीतिक दबाव छ । तर, अन्यमा प्रहरी नै जिम्मेवार छन् ।’
प्रतिपक्ष दलहरुले प्रहरीका पछिल्ला केही अनुसन्धानप्रति प्रश्न उठाइरहेका बेला गृहमन्त्री थापाले प्रतिपक्षको नाम नलिई त्यसलाई राजनीतिक अभिष्ट पूरा गर्न चालिएको अतिरञ्जित कदमको संज्ञा दिए । अपराधलाई अतिरञ्जित गरिए पनि त्यसमा प्रहरी सचेत हुनुपर्ने गृहमन्त्री थापाको भनाइ छ ।

प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार  ६ : ०८ बजे