मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीको कार्यशैलीबाट ‘प्रचण्ड’ले चित्त बुझाउन छाडे



काठमाडौं फागुन, २–
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्त बुझाउन छाडेका छन् । ओलीबाट हुने व्यवहार र शैलीको दाहालले आफ्नै तरिकाले जवाफ दिन थालेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

बुधबार जनयुद्ध दिवसको अवसरमा आफ्नै पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थित भएनन् । तर, दाहालले भने प्रधानमन्त्री ओली कार्य व्यस्तताका कारण आउन नपाएको जनाए पनि भित्रभित्रै भने उनी क्रुद्ध बनेका थिए । जनयुद्ध दिवस तत्कालै घोषणा गरिएको कार्यक्रम होइन् ।

अर्कोतिर सरकार बनाउने बेला राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले ओलीलाई साथ दिएको थियो । ओलीले राजपालाई गुन तिर्न खोजेका छन् । राजपालाई सरकारमा सहभागी गराएर ओलीले सरकार बिस्तारको तयारी गरे पनि दाहालले अस्वीकार गरेका छन् ।

दाहालले अस्वीकार गरेपछि राजपालाई सरकारमा सहभागी गराउने ओलीको योजना तत्कालका लागि तुहिएको छ । राजपाले ओलीसँग तीन वटा मन्त्रालयको माग गरेको छ ।

राजपाले स्वास्थ्य, पर्यटन र एउटा जुन कुनै भए पनि हुने जनाएको छ । ओली पनि राजपालाई स्वास्थ्य र पर्यटन मन्त्रालय दिन तयार छन् । तर, राजपाले नेताहरूलाई व्यवस्थापन गर्न तीन वटा मन्त्रालय चाहिने जनाउँदै आएको छ ।

मन्त्रालयमा कुरा नमिलिरहेका बेला ओलीको प्रस्तावलाई दाहालले अस्वीकार गरेपछि तत्काल क्याबिनेट बिस्तारको कुरा रोकिएको छ । राजपाका नेता राजेन्द्र महतोले केही दिन अगाडि ओलीसँग बालुवाटारमा गोप्य रुपमा भेटेर सरकारमा सहभागी हुने विषयमा कुराकानी गरेका थिए । ओली र महतोबीच कुरा मिलेको छ । तर, दाहालले बीचमा नमान्दा समस्या भएको स्रोतले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय राजपाले पायो भने राजेन्द्र महतोलाई मन्त्री बनाउने योजना ओलीको छ । उपेन्द्र यादवलाई परराष्ट्रमा लैजाने तथा प्रदीप ज्ञवालीलाई पर्यटन, भौतिक वा सञ्चारमध्ये एउटा मन्त्रालय दिने योजना ओलीको छ ।

रविन्द्र अधिकारी र गोकुल बास्कोटालाई ओलीले बिदा गर्ने योजना बनाएको स्रोतको भनाइ छ । यद्यपि, गोकुल बास्कोटाले मन्त्री पद छाड्न नमाने प्रधानमन्त्रीको कार्यालय हेर्ने गरेर मन्त्री बनाइनेछ ।

राजपाले शरतसिंह भण्डारीलाई मन्त्री बनाउन पर्यटन मन्त्रालय माग गरेको छ । अर्को कुनै एउटा मन्त्रालय पाएमा राजकिशोर यादवलाई मन्त्री बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।

राजपाप्रति दाहाल र उपेन्द्र यादव बाधक बनिरहेका छन् । राजपा पनि सरकारमा सहभागी भयो भने ओली झन् सानका साथ काम गर्न पाउनेछन् । ओली बलियो भएको कुरा दाहाललाई मन परेको छैन । सोही कारण पनि राजपालाई रोक्न दाहाल र उपेन्द्र यादव सक्रिय भएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार  ३ : ०० बजे