खोटाङ फागुन, ६–
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको भण्डारेघाटमा पंचकौशिका आधारभूत विद्यालयकोचारकोठे पक्की भवन उद्घाटन गरिएको छ । आइतबार विद्यालयको २७ औं वार्षिक उत्सवको अवसरमा उक्त चारकोठे पक्की भवन उद्घाटन गरिएको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले उक्त विद्यालय भवनको उदघाटन गरेका हुन् ।
यसअघि विद्यालयको दुइ कोठे तीन वटा, एक कोठे एक वटा भवन मात्रै थियो । नेपालको हकमा अल्पसंख्यक तर, बहुसंख्यक रुपमा माझी समुदायका विद्यार्थीहरु उक्त विद्यालयमा अध्ययनरत छन् । विद्यलय भवनको उदघाटन गर्दै अध्यक्ष राईले लिच्कीराम्चे, बतासे र उदयपुर जिल्लाका अधिकांस माझी समुदायका विधार्थी अध्ययन गर्ने आधारभूत विद्धालयलाई नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकार र स्थानीय सरकार शासन संचालन सम्बन्धि ऐन २०७४ ले दिएको अधिकार पालना गर्दै यसै आर्थिक वर्षमा माध्यमिक विद्यालय संचालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
अध्यक्ष राईले भने, ‘विद्यालय भवनको अभावमा विद्यार्थीहरुलाई भनेजस्तो शिक्षा दिन सकिएको थिएन । मावि तहको लागि पढ्न अन्यत्र जानुपर्ने अवस्था छ । कि पढाइ नै छोड्नुपर्छ । त्यही कारण मावि तहको पढाइ गराउनेमा गाउँपालिका गम्भिर भएर लागि परेको छ ।’
उनले थपे, ‘पढ्न मन लागे पढ्ने, नभए सुनकोसी नदीमा जाल, पासो थापेर माछा मार्ने र डुंगा चलाउने पुख्यौली पेसा गर्नुपर्ने बाध्यता छ र थियो । त्यही भएर अव सोही विद्यालयमा मावि तह पढ्न पाउनेमा माझी समुदायका विधार्थी र अभिभावकलाई ढुक्क बनाउन चाहान्छु।′
त्यस्तै, उक्त विद्यालयका प्रधानाध्यापक पवन कुमार वस्नेतले यसअघि बारबुर गरेर कक्षा सञ्चालन गरेकाले अध्ययन÷अध्यापन गराउन निकै कठिनार्इ भएको बताए । उनले भने, ‘अब भने त्यो समस्या हटेर गयो, विद्यार्थी र शिक्षकमा खुशियाली छायो ।’ तत्कालिन जिल्ला शिक्षा कार्यालय खोटाङको ३६ लाख बजेटबाट निर्माण सम्पन्न भवन उदघाटन भएसँगै प्रधानाध्यापक बस्नेतले उक्त अनुभव सुनाएका हुन् ।
गत जेठबाट निर्माण थालिएको भवन माघ अन्तिममा निर्माण सम्पन्न भएको थियो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकासंगै खोटेहाङ गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको रौतामाई गाउँपालिका लगायतका १ सय १५ जना पिछडिएका वर्गका बालबालिका मध्ये ८६ जना माझी समुदायका विधार्थी उक्त विद्यालयमा अध्ययनरत छन् । आर्थिक वर्ष २०७४÷०७५ को बजेटबाट गाउँपालिकाभित्रका हरेक वडाका एक एक विद्यालयलाई नमुना बनाउने गाउँपालिकाको नीति रहेको छ । सोही नीति अनुसार उक्त विद्यालयलाई गाउँपालिकाले गएको भदौ २३ गते दश थान कम्प्युटर प्रदान गरेर कम्प्युटर कक्षा लिने अवसर समेत प्रदान गरेको छ । अहिले माझी समुदायका बालबालिका कम्यूटर शिक्षा सिक्नमा पनि व्यस्त छन् । यस्तै, गत माघ १३ गते सोही भेगको भण्डारेघाटमा स्वास्थ्य इकाई राख्ने गाउँकार्यापालिकाको भेलाले निर्णय समेत गरिसकेको छ ।