काठमाडौं चैत, १५–
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमा नेपाली सेनाको विमति नरहेको बताएका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले सेनाले सधैं सरकारको निर्णय पालना गर्दै आएको बताए ।
‘हामीले बारम्बार भनेका छौं, सेना नेपाल सरकार मातहतको निकाय हो, सरकारको निर्णयमा उसको कुनै किसिमको विमति रहँदैन,’ मन्त्री बाँस्कोटाले भने, ‘सरकारले लिने हरेक निर्णयमा उसको न कहिल्यै विमति छ, न रहन्छ, अन्तरविरोध चर्काउने प्रयत्न नगर्न म आग्रह गर्छु ।’
सरकारले २८ फागुनमा विप्लव नेतृत्वको नेकपामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपालसहितका दलले वार्ता र संवादमार्फत नै यो समस्या समाधान गर्न सरकारलाई सुझाव दिएका छन् ।