ओली सरकारविरुद्ध कांग्रेस नेताहरुको प्रहारः ‘उखान टुक्काले देश चलाउने सपना देख्न छाडे हुन्छ’



काठमाडौं चैत, २८–
नेपाली कांग्रेसका नेताहरु काभ्रेको भकुण्डेवसीबाट सरकारविरुद्ध खनिएका छन् । बुधबार काभ्रेमा भएको पार्टी शिलन्यास तथा आमसभालाई सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले वर्तमान कम्युनिष्ट सरकारले बर्षदिनमा यो काम गर्यो भनेर भन्न मिल्ने कामै नभएको दाबी गरे । उनले ओली सरकारको पालामा सबैभन्दा बढी हत्या हिंसा र बलात्कारका घटना घटेको आरोप लगाए । सभापति देउवाले प्रधानमन्त्री ओली उखान टुक्काको भण्डार भएको भन्दै उखान टुक्काले मात्रै देश नचल्ने बताए । उनले अब कांग्रेसलाई एकढिक्का बनाउने आफ्नो योजना रहेकाले सबै नेता कार्यकर्ताले यसमा साथ दिनुपर्नेमा जोड दिए । त्यस्तै, सोही कार्यक्रममा बोल्दै कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले कांग्रेस जेठो पार्टी भएकाले सँधै जेठोको भूमिकमा रहने बताए । उनले भने, ‘जेठो कहिल्यै कान्छो हुँदैन, जेठो सन्तानले कहिल्यै आफुमात्र खाउँ, आफु मात्र लाउँ भन्दैन,’ उनले भने, ‘त्यसैले कांग्रेसले सबैलाई मिलाएर जान्छ ।’

कांग्रेस विभिन्न ठाउँमा पराजय भएपनि नआत्तीने उनको भनाई थियो । पानी जहाज नेपालीलाई नचाहिने हैन तर अहिले जनतालाई पानीजहाज भन्दा पानी चाहिएको स्पष्ट पारे ।
बुधबार काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेमा कांग्रेस क्षेत्र नं. १ को भवन निर्माण गर्न शिलान्यास गरिएको छ । सोही कार्यक्रममा बोल्दै कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ओली मानसिक रोगबाट ग्रसित भएको आरोप लगाए । उनले मानसिक रोगीबाट मूलुकले समृद्धिको आशा गर्नु बेकारको कुरो भएकाले त्यस्ता कुराका पछाडी नलाग्न सबैसँग आग्रह पनि गरे ।
नेपाली कांग्रेस क्षेत्र नंं १ को अत्याधुनिक भवन निर्माण हुने भएको छ । सो भवन एक वर्ष भित्र निर्माण सम्पन्न हुने क्षेत्र नंं. १ का सभापति तिर्थ लामाले बताए ।

प्रकाशित मिति : चैत्र २८, २०७५ बिहिबार  २ : ०९ बजे