मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समिट एयरको दुर्घटना छानबिन गर्न सरकारद्वारा समिति गठन



काठमाडौं वैशाख, २–
सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा भएको समिट एयरको विमान दुर्घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार उक्त समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य रहेका छन् भने समितिको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा रहेको लुक्ला विमानस्थलमा आइतबार बिहान ९ः२२ बजेको समयमा भएको सो दुर्घटनामा दुई प्रहरीसहित तीनको मृत्यु भएको थियो भने चार जना घाइते भएका छन् ।

लुक्लाबाट रामेछाप उड्ने क्रममा रहेको ‘नाइन एन एएमएच’ कलसाइन विमान धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएको श्री एयर र मनाङ एयरको ‘नाइनएन एएलसी’ कल साइन हेलिकप्टरसँग ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी समिट एयरका सहायक पाइलट सुजित ढुङ्गाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो ।

उक्त घटनामा समिट एयरका पाइलट रवीनाथ रोकाय र मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर सामान्य उपचारपश्चात् घर फर्किसकेको मन्त्रालयद्वारा आइतबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ५ : ४५ बजे