काठमाडौं वैशाख, ३–
कांग्रेस राष्ट्रिय जागरण अभियानको घोषणा गर्ने जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत अभियानको घोषणा गर्ने तयारी गरिएको जानकारी गराए ।
केही दिनअघि पार्टी सभापति शेरबहादुर देउवाले पोखरामा नयाँ वर्षको सुरुवातसँगै सङ्गठन सुधारका लागि जागरण अभियान चलाउने घोषणा गरेका थिए । पार्टी भित्र नेतृत्व तहमा देखिएको विवादले कार्यकर्ता तहमा देखिएको नैराश्यतामा कमी ल्याउन कांग्रेसले यस्तो अभियानको तयारी गरेको हो । तीन चरणमा जागरण अभियान संचालन हुने कांग्रेसनिकट स्रोतले जनाएको छ । पहिलो चरणको अभियान वैशाख ११ गते सुरु गर्ने तयारी कांग्रेसको छ । कार्यक्रम र समयतालिकाको औपचारिक घोषणा आज मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने तयारी गरिएको प्रवक्ता शर्माले बताए ।
जागरण अभियान अन्र्तगत पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षणका कार्यक्रम पनि चलाउने भएको जनाएको छ । कांग्रेसले अभियान पहिलो चरणमा ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५१ स्थानीय तहमा लैजाने योजना बनाएको छ ।










