काठमाडौं वैशाख, १०–
कांग्रेस भातृसंस्था नेपाल तरुण दलले पार्टीको आयोजनामा सुरु हुन लागेको राष्ट्रिय जनजागरण अभियानमा सक्रियतापूर्वक सहभागीता जनाउने भएको छ । दलका अध्यक्ष जीतजंग बस्नेतले ७७ जिल्लाका समितिलाई भ्रष्टाचारविरूद्ध अभियानमा सहभागी हुन निर्देशन दिएका हुन् । उनले सबै जिल्लाका समितिहरुलाई मालपोत, यातायात, नगरपालिका लगायत सरकारी कार्यालयमा सेवाग्राहीलाई सघाउन पनि निर्देशन दिएका छन् । तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले मंगलबार एक विज्ञप्ति जारी गर्दै मालपोत, यातायात, नगरपालिकाजस्ता जनसरोकारका कार्यालयमा सेवाग्राहीलाई पर्ने बाधा व्यवधानलाई मध्यनजर गरी सेवाग्राहीलाई सहयोग गर्नेगराउने सम्पूर्ण जिल्ला समितिलाई निर्देशन दिएका हुन् । तरुण दलले देशैभर सडकमा मेटिएका जेब्राक्रसमा रङ लगाउन पनि जिल्ला समितिलाई निर्देशन दिएको छ। ‘मेटिएको जेब्रा क्रसिङमा पेन्टिङ सुरू गर्ने,’ विज्ञप्तिमा उल्लेख छ।
गाउँ/नगर समितिलाई जागरुक बनाएर एक महिने सरसफाइ अभियान गर्न समेत महासचिव शाहीको विज्ञप्तिमा उल्लेख छ ।
तरुण दलले भ्रष्टाचारविरूद्ध मेची÷महाकाली अभियान चलाउने भएकोले तयारी अवस्थामा रहन पनि सम्पूर्ण जिल्ला समितिलाई निर्देशन दिईएको छ । कांग्रेसको सशक्त भातृसंस्थको रुपमा चिनिने तरुण दलले भ्रष्टाचारविरूद्ध वैशाख १५ गते देशैभरका जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत तय गरेको छ ।








