विद्यालय तथा क्याम्पसलाई लक्षित गरी नेपाल प्रहरीले थाल्यो एन्टी बुलिङ अभियान



काठमाडौं वैशाख, १३–
नेपाल प्रहरीले एन्टी बुलिङ अभियान सुरु गरेको छ ।विद्यालय तथा क्याम्पसमा हुने सम्भावित अभद्र व्यवहार तथा हैरानी रोक्न नेपाल प्रहरीले यस्तो अभियानको सुरुवात गरेको जनाएको छ ।

सामुदायिक प्रहरी साझेदारी अन्तरगत शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानीविरुद्ध अभियान सुरु भएको हो । प्रहरी प्रमुख सर्वेन्द्र खनालले भिडियो कन्फेरेन्सको माध्यमबाट अभियान शुभारम्भ गरेका हुन् । जनकपुरमा रहेका कारण आईजीपी खनालले कन्फेरेन्सको माध्यमबाट अभियानको शुभारम्भ गरेका हुन् ।

आईजीपी खनालले स्कुलभित्र र बाहिरको समेत वातावरण सुरक्षित बनाउन प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने र यसको लागि प्राज्ञिक क्षेत्रसँग सहकार्य गरेर योजनाबद्ध रुपमा अगाडि बढने प्रतिवद्धता जनाए ।

अभियान अन्तरगत प्रहरीले वैशाख र जेठभर हरेक स्कुलमा पुगेर कार्यक्रम सञ्चालन गर्नेछ ।

प्रहरीका अनुसार अभियानका क्रममा स्कुल तथा कलेजमा जनचेतनामूलक पोष्टर टाँसिने तथा अन्तरक्रियात्मक प्रवचनहरु संचालन गरिनेछ ।

प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार  ९ : ०९ बजे