काठमाडौं वैशाख, १५–
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नभए धुलिखेलमा बनाउने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउने बारेमा सरकारपछि नहटेको जानकारी दिए । उनले भने, “एयरपोर्टका लागि बनेपाको नागीडाँडा उपयुक्त नभए धुलिखेलमा बन्छ, हामीले अनुगमन गरिसकेका छौँ, यस विषयमा सरकार व्याक भएको छैन ।”
काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल निर्माणबारे एक चिनियाँ कम्पनीले चासो दिइरहेको उनले बताए । “डोमेष्टिक एयरपोर्ट बनाउने विषयमा चिनियाँ लगानीकर्तासँग कुरा भइरहेको छ”, मन्त्री बाँस्कोटाले भने, “अन्तर्राष्ट्रिय विमानस्थलमा होल्डिङको अवस्था कम गर्न एयर डाइभर्टेशन र होल्डिङका लागि लागि हामीले कस्तो खालको एयरपोर्ट बनाउने भन्नेबारे आन्तरिक छलफल गरिरहेका छौँ ।”
आन्तरिक विमानस्थलका लागि गत साल बनेपाको नागीडाँडा र धुलिखेलको देवीस्थान र चिसापानी ठूलीचौरको जमिन निरीक्षण गरिएको जानकारी दिँदै उनले भने, “आवश्यकताले पनि विकास निम्त्याउने हो, यसका लागि सरकार तयार छ ।” मन्त्री बाँस्कोटाले समयले कसैलाई नपर्खने भएकाले अवसरका बेला चुनौतीको सामना गर्दै कुनै पनि हालतमा उद्देश्य पूरा गरेरै छाड्ने जिकिर गरे ।
बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादेले नगर समृद्ध बनाउन व्यवसायी र स्थानीय तहबीच सहकार्य गरी अघि बढ्नुपर्ने बताए । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य शुरकृष्ण वैद्यले सरकार औद्योगिक क्षेत्रमा सकारात्मक भएकामा खुशी व्यक्त गर्दै सरकार नवनिर्माणसँगै समृद्धिको बाटोतर्फ लम्किएकाले केही वर्षमै विकासको प्रतिफल देखिने बताए ।