काठमाडौं वैशाख, १६–
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठन भएदेखि अहिलेसम्म सरकारले अरुले गरेका काम आफूले गरेको भनेर प्रचारमै विताएको आरोप लगाएका छन् । सोमबारदेखि सुरु भएको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकार गठनको १४ महिनामा सरकारले देखाउन लायकको एउटा पनि काम गर्ननसकेको बताएका हुन् ।
उनले सरकारकै कारण मूलुकमा निराशा व्याप्त भएको भन्दै देशलाई समृद्धिको दिशामा लैजाने अभूतपूर्व ऐतिहासिक अवसर सरकारले त्यतिकै खेर फालेको बताए ।
उनले भने, ‘लामो समयसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा सरकारको नियत प्रति शंका उब्जिएको जिकिर गरे । ‘शान्ति सुरक्षा कायम गर्न सरकार असफल भयो ।’
सभापति देउवाले विगतका सरकारले सम्पन्न गरेका आयोजनाहरु उद्घाटन गरेर आफैले सम्पन्न गरेको भनी झुटा प्रचार गर्न बाहेक सरकारले उल्लेख्य काम गर्न नसकेको दाबी गरे । ‘विगतका सरकारको पालोमा शुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम तामझामका साथ आफैले सुरु गरेको जसरी प्रचार गर्न गरियो,’ उनको गुनासो थियो ।
नेपालकै लगानीमा बुढीगण्डकी आयोजना सम्पन्न गर्नुको सट्टा बिना प्रतिस्पर्धा विदेशीलाई सुम्पने काम गरेको बताउँदै देउवाले पूँजीगत खर्चमा सरकारको उपलब्धि निराशाजनक भएको उल्लेख गरे ।
‘विदेशी लगानीको गफ हाक्ने सरकारले विदेशी अनुदान न्यून ल्याएको छ,’ उनले भने, ‘थप लगानी ल्याउन पनि सरकार असफल भएको छ ।’
विदेशी घाटा बढ्दो रहेको र मूल्यबृद्धिको मारमा जनता पर्दै गएकोमा देउवाले चिन्ता व्यक्त गरे ।
देशमा संस्थागत रुपमा भ्रष्टाचार बढेको राष्ट्रपति स्वयम्ले उल्लेख गरेको भन्दै बालुवाटार भूमाफिको कब्जामा पर्दा पनि सरकार ढाकछोपमा लागेको उनले आरोप लगाए ।








