संखुवासभा वैशाख, १७–
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा जो कोही मुछिए पनि कारबाही हुनुपर्ने बताएका छन् । मंगलबार प्रेस युनियन संखुवासभाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वमहामन्त्री समेत रहेका सिंहले कांग्रेसकै नेता दोषि भए पनि कारबाही हुनुपर्ने प्रष्ट पारेका हुन् ।
बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत मुछिएको प्रसंगबारे सोधिएको प्रश्नमा नेता सिंहले भने, ‘कांग्रेसका नेता होउन् या अरु कुनै पार्टीका होउन्, यसको निष्पक्ष तवरले छानविन गरेर कानुन बमोजिम दण्ड सजायँ दिनुपर्छ ।’
कांग्रेसले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको दावी गर्दै नेता सिंहले कांग्रेसका लागि यो स्वीकार्य नहुने बताए ।
उनले सरकार संविधानको भावना र मर्मविपरित अगाडि बढिरहेको बताउदै दुई तिहाई बहुमत छ, भन्दैमा संविधान अबमूल्यन गर्नु अधिनायकवादी चरित्र भएको आरोप लगाए ।
उनले सरकार संघीयता कार्यान्वयनमा असफल भएको दाबीसमेत गरे । सरकारले आफ्नो असक्षमता ढाकछोप गर्न प्रेसमाथि सेन्सरसिप लगाउन खोजेको उनले बताए ।
यतिवेला नेता सिंह पूर्वी नेपालका जिल्ला भ्रमणमा छन् । उनी कांग्रेसले सुरु गर्न राष्ट्रिय जागरण अभियानकै सिलसिलामा जिल्ला भ्रमणमा निस्किएका हुन् । नेता सिंहसँगै केन्द्रीय सदस्य बलबहादुर केसी सरिता प्रसाईंसहित आधादर्जन पूर्व सांसद र आधा दर्जन जिल्ला सभापतिसहित उनी सोमबारदेखि संखुवासभाका विभिन्न कार्यक्रममा व्यस्त छन् ।










