काठमाडौं वैशाख, १७–
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ सरकारप्रति चर्को आक्रोश पोखेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले फोरम–राजपाको गठबन्धनको सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको आरोप लगाएका हुन् । उनले प्रदेश २ मा पनि नेकपाको नेतृत्वमा सरकार बन्न सक्ने दावी गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचडले भने, ‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन, त्यो मधेसी जनताको हित अनुकुल चलेको छैन ।’ उनले तराई मधेसमा पनि कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार बन्नुमात्रै त्यहाँको जनताको हितमा हुने प्रष्ट पारे ।
यहाँसम्म आइपुग्दा झन् बढी भ्रष्टाचार, झन् बढी बेइमानी देखिएको भन्दै यही स्थिति हुने हो भने बिचैमा पनि सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउने चेतावनी दिए ।
नेकपाले चाहेमा अहिले नै प्रदेश २ मा नेकपाको सरकार बन्न सक्ने उनको भनाइ थियो । अध्यक्ष दाहालले भने, ‘हामीले चाहने हो भने, त्यहाँ बिभिन्न खालको चलखेल गर्ने हो भने अहिले पनि सरकार बन्न सक्छ, तर हामीले फेरि उहाँहरुले बनाएको सरकार राम्रो काम गरोस्, हाम्रो साथ हुन्छ भनेर भनेको हो ।’
हाल प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार छ । सबैभन्दा ठूलो दल भए पनि नेकपा सरकार बाहिर छ । प्रचण्डले भनेको जस्तो प्रदेश २ मा अहिले भएको सरकार ढालेर नेकपाको नेतृत्वमा बनाउन सत्तारुढ फोरम वा राजपामध्ये एकको समर्थन चाहिन्छ ।
प्रचण्डले सरकारले आगामी नीति तथा कार्यक्रममा तराई मधेसका लागि विशेष प्याकेजको व्यवस्था गर्नेबारे पार्टीमा छलफल भएको जानकारी दिए ।








