काठमाडौं चैत, १८–
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभापति विमलेन्द्र निधिको संयोजनमा हावाहुरीबाट प्रभावित बारा र पर्सामा उद्धार तथा राहतमा जुट्न निर्देशन दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति निधिलाई उद्दारको संयोजन गर्न निर्देशन दिएका हुन् । कांग्रेसले आइतबार साँझ परेको असिना पानीसहितको हावाहुरीप्रभावित बारा र पर्सामा उद्धार तथा राहतमा जुट्न अपिल गरेको छ ।
सभापति देउवाले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकप्रति शोक व्यक्त गर्दै राहत र उद्धारमा जुट्न पार्टीलाई निर्देश दिएका हुन् । देउवाले राहत र उद्धारको कामलाई प्रभावकारी बनाउन सरकारसँग पनि आग्रह गरेका छन् ।
पार्टी कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ यस विपदमा परी घाइते भएकाहरुको तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा जीवन गुमाउन पुगेकाहरुका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न म नेपाल सरकालाई आग्रह गर्दछु ।’
अहिलेसम्म २७ जनाको मृत्यु भएको तथा चार सयभन्दा बढी घाइते भएको गृहमन्त्रालयले पुष्टि गरेको छ ।








