राष्ट्रपतिको सवारीले हवाइ यात्रु हैरानी खेप्न बाध्य, अवतरण गर्नुपर्ने जहाजहरु एक घण्टा आकाशमै



काठमाडौं वैशाख, १८–
राष्ट्रपति विद्यादेवी भण्डारी चीनबाट फर्किदा पनि काठमाण्डौको आकाश खाली गराइएको छ । बुधबार चीनको साताव्यापी भ्रमण पूरा गरेर राष्ट्रपति भण्डारी स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अरु जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न बाध्य भएका थिए ।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएकी राष्टपति भण्डारी १० बजेर ९ मिनेटमा अवतरण गरेपछि पनि धेरैबेरमा अरु जहाजले पालो पाएका छैनन् ।
राष्ट्रपतिको जहाजभन्दा पहिले नै चीनको चेङ्दुबाट आएको एयर चाइनाको जहाजले तीन फन्को लगाउँदा पनि अवतरणको पालो नपाउँदा उतै फर्किएको हो ।

यस्तै कतारको दोहाबाट आएको हिमालयन एयरलाइन्स भारततिर फर्किएको छ । वीरगञ्ज र हेटौँडाको आकाशमा चार फन्को लगाउँदा पनि पालो नपाएपछि जहाज फर्किएको हो ।

मुम्बइबाट आएको इथोयोपियन एयरलाइन्स पनि निकैबेर आकाशमा फन्को लगाएको छ । राष्टपति भण्डारी चीन जाने बेलामा पनि झण्डै ४० मिनेट उडान र अवतरण ठप्प भएको थियो ।

राष्ट्रपतिको सवारीको बेला हवाइ उडान र सडक यातायात ठप्प बनाउँदा यात्रुले हैरानी खेप्ने गरेका छन् । राष्ट्रपतिको सवारीको तिव्र आलोचना भैरहे पनि सम्बन्धित निकायले यो कुरामा ध्यान नदिएका हुन् वा चासो नदिएका हुन् यथार्थ थाहा भएको छैन ।

प्रकाशित मिति : बैशाख १८, २०७६ बुधबार  ५ : २८ बजे