मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तातोपानी नाका खुलाउन सडक मर्मतलाई तीव्रता



काठमाडौं वैशाख, २०–
तातोपानी नाका खुलाउन अरनिको राजमार्गको मर्मत तीव्र पारिएको छ।वर्षा सुरु हुनुअघि नै निर्माण र मर्मत सक्न राजमार्गको वनदेउदेखि भोटेकोसी गाउँपालिकाको सीमा क्षेत्रसम्म ३५ किलोमिटर सडक मर्मत भइरहेको छ।

सडक डिभिजन कार्यालय चरिकोटले ५ प्याकेजमा ३ महिनाभित्र सक्न टेन्डर गरेर सडक मर्मतलाई तीव्रता दिएको डिभिजन प्रमुख धर्मेन्द्र झाले बताए। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

उनकाअनुसार कटानमा परेका राजमार्गखण्डमा मेसिनरी वाल (सिमेन्टको पर्खाल) उठाएर चौडा पारिनेछ। वर्षाले सडक कटान गरेर एकतर्फी आवागमनमा समेत समस्या देखिएको कोठे, महभिरलगायत ठाउँमा सडक चौडा पारेर पहिरो नियन्त्रण गरिने उनले जानकारी दिए।

जुरे पहिरो क्षेत्रको सडकमा नाली र पानी सडक बाहिरबाट बगाएर आगामी वर्षामा समेत अवरुद्ध नहुने गरी मर्मत गर्न लागेको सडक कार्यालयले जनाएको छ। पहिरो नियन्त्रणसँगै राजमार्गका बिग्रिएका १२ किलोमिटर खण्डमा कालोपत्रेसमेत गरिने डिभिजन प्रमुख झा बताउँछन्।

करिब ३४ करोड रुपैयाँमा ठेक्का दिइएको उनले जानकारी दिए। ‘निर्धारित समयमै काम सक्न ठेकेदारलाई निर्देशन दिइएको छ’, झाले भने, ‘समयमा सक्नुका साथै गुणस्तरमा पनि कुनै सम्झौता नहोस् भनेर नियमित अनुगमन गरिरहेका छौं।’

नाका सञ्चालनमा ल्याउन सीमाबजार लिपिङदेखि लार्चास्थित सुक्खा बन्दरगाह हुँदै चाकु बजारसम्मको सडक चीनले निर्माण गरिसकेको छ। सुक्खा बन्दरगाहको काम पनि अन्तिम चरणमा छ। नेपाल–चीन जोड्ने मितेरी पुलको कामसमेत तीव्र गतिमा भइरहेको स्थानीय बताउँछन्। यो नाका ०७२ सालको भूकम्पपछि बन्द छ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १ : ५३ बजे