नेपाली कांग्रेसको राष्ट्रिय जन जागरण अभियानको बिस्तृत कार्यतालिका सार्बजनिक



 सोमवार, बैशाख २३, २०७६-

नेपाली कांग्रेसले यही बैशाख २५ गतेबाट शुरु हुन लागेको कांग्रेस हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानको बिस्तृत कार्यतालिका सार्बजनिक गरेको छ । आज पार्टी कार्यलय बिपिनगर सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टी प्रबक्ता बिश्व प्रकाश शर्माले राष्ट्रिय जागरण अभियान अन्तर्गत बिस्तृत कार्यक्रम सहितको कार्यातालिका सार्बजनिक गरेका हुन ।
पत्रकार सम्मेलनको पुरा बिबरण-
 नेपाली कांग्रेसद्वारा आयोजित पत्रकार सम्मेलनमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।
वैशाख २३, २०७६
आदरणीय पत्रकार साथीहरू,
नेपाली कांग्रेसद्वारा आयोजित पत्रकार सम्मेलनमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।
राष्ट्रिय राजनीतिका पछिल्ला सन्दर्भ बारे हाम्रा धारणा यस बीचमा सार्वजनिक भएकै छन् । त्यसबारे मौखिक रुपमा संक्षिप्त टिप्पणी गर्दै आजको पत्रकार सम्मेलन मूलत जागरण अभियानमा केन्द्रित रहेको जानकारी गराउँदछु ।
१. हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान तीन चरणमा हुन लाग्दैछ ।
वैशाख २५—जेठ २५ प्रथम चरण,
भदौ २४ (बीपी जयन्ती) —असोज १० दोस्रो चरण
र, पुष ७—पुस १६ (राष्ट्रिय एकता तथा मेलमिलाप दिवस) तेस्रो चरण ।
२. नेपाली राजनीतिमा एकै स्वरुपको प्रथम कार्यक्रमका रुपमा अभियान प्रारम्भ हुँदैछ ।
– एक अभियान तर पन्ध्र उद्देश्य । स्वदेशसँगै विदेशका ३३ देशमा ।
– भिन्न भ्रातृ संस्था भिन्न मुद्दाका कार्यक्रम ।
– ७७ जिल्लामा एकसाथ उद्घाटन ।
– आसन ग्रहणमा परम्परागत शैलीको अन्त्य ।
– स्वागत र विसर्जन बाहेक केवल तीन वक्ता
– विषय प्रवेश
– महिला वक्ताको मन्तव्य
– प्रमुख अतिथिको मन्तव्य
– कार्यक्रमको मूल व्यानर र प्रचार सामग्री देशव्यापी रुपमा सबै तहमा एउटै डिजाइनको ।
– व्याज वितरण र किलोमा चर्चा हुने माला परम्पराको अन्त्य ।
– १२ भाषामा जागरण गीत
– मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषा ।
३. २५ गते अलगअलग प्रदेशका जिल्लामा प्रमुख नेताहरुले सम्बोधन गर्नु हुनेछ ।
४. प्रशिक्षण प्रतिष्ठानको जागरण केन्द्रित सक्रियता
यस बीचमा पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको गठन, सपथ ग्रहण र दुई दिने बैठक मार्फत जागरण अभियानलाई अझ प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रमहरुको प्याकेज घोषणा गरिएको छ ।
५. अनुशासन समितिको जागरण केन्द्रित सतर्कता
यस बीचमा पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले जागरण अभियानलाई अनुशासित र व्यवस्थित बनाउने उद्देश्यका साथ पार्टी हित विपरीतका गतिविधि कोहीबाट पनि र कहीपनि नहुन् भन्ने अभिप्रायका साथ म्ीब् को राष्ट्रव्यापी संरचनालाई आग्रहसाथ पर्यवेक्षण अभिभारा सुम्पिइएको छ ।
६. जिल्ला सम्पर्क समितिहरुको जागरण केन्द्रित भेला र पहलकदमी
यस बीचमा काठमाडौँमा रहेका ५१ जिल्ला सम्पर्क समितिको भेला पार्टी केन्द्रीय कार्यालयको संयोजनमा केन्द्रीय कार्यालयमा भएको छ । जसले अभियानलाई तीव्रता दिन महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ ।
नोट ः केन्द्रीय समितिमा रहेका सांसदहरुलाई चलिरहेको संसद अधिवेशनमा बढी क्रियाशील राख्न जिल्लामा प्रतिनिधिका रुपमा पठाउने पूर्व निर्णय परिवर्तन गरिएको छ ।
जागरण अभियानमा उत्साह र जाँगरका साथ सहभागी बन्न नेपाली कांग्रेस स्वदेश र विदेशमा रहेका सम्पूर्ण साथीहरुलाई हार्दिक अपिल गर्दछ । अभियानका अनेक सन्दर्भ बारे सञ्चारजगतबाट समाचार सम्प्रेषणका अतिरिक्त रचनात्मक सुझाव र खुला टिप्पणीको अपेक्षा हामीले राखेका छौं ।
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता

प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार  २ : ३४ बजे