मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेलबाटै ‘डन’को निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की



काठमाडौं वैशाख, २७–
सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभियुक्तले नै निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

रमेश बाहुन भनिने सुजन पौडेल, समीरमानसिंह बस्नेत र रिगल भनिने योग ढकालले फोन गरेर व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको खुलेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

व्यवसायीलाई अज्ञात नम्बरबाट निरन्तर धम्की आएपछि केही साताअघि नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर सरकारको ध्यानाकर्षण गराएको थियो ।

रमेश लागुऔषध कारोबार अभियोग तथा समीरमान र रिगल हत्या अभियोगमा कैद सजाय भोगिरहेका छन् । समीरमानलाई निर्माण व्यवसायी शरद गौचन हत्याको अभियोग पनि लागेको छ । प्रहरीले गौचन हत्यामै संलग्नमध्ये फरार दुई अभियुक्त पनि निर्माण व्यवसायीलाई धम्क्याउने धन्दामा लागेको जनाएको छ ।

‘निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की आएको सम्बन्धमा अनुसन्धान भइरहेको छ । अनुसन्धान रमेश बाहुन भनिने सुजन पौडेल, समीरमानसिंह बस्नेत र रिगल भनिने योग ढकालमाथि केन्द्रित हुनु स्वाभाविक हो,’ महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, ‘यीबाहेक व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको छ । उनीहरूको संलग्नताको केही आधार फेला परेका छन् ।’

पक्राउ परेपछि तीनैजनालाई केन्द्रीय कारागारस्थित गोलघरमा राखिएको थियो । उनीहरूले इन्टरनेट फोन प्रयोग गरेर धम्की दिएको भेटिएको प्रहरीले जनाएको छ । कतिपय अवस्थामा कारागारमा उपलब्ध सुविधाको टोलिफोन पनि पनि प्रयोग गरेको देखिएको प्रहरीले जनायो ।

गोलघरभित्रै मिलेर व्यवसायीलाई धम्की दिएको खुलेपछि रमेश, समीरमान र रिगललाई गोलघरबाट अलग्याइएको छ । गृह मन्त्रालयको आदेशपछि रिगललाई कारागार व्यवस्थापन विभागले मकवानपुरस्थित भीमफेदी कारागारमा स्थानान्तरण गरिसकेको प्रहरीले जनायो ।

यस्तै, रमेश र समीरमानलाई गोलघरबाट निकालेर केन्द्रीय कारागारकै फरक–फरक खोरमा राखिएको छ । अबको केही दिनमै उनीहरूलाई पनि अन्य कारागार सारिने प्रहरीको भनाइ छ ।

‘कारागार स्थानान्तरणका लागि सिफारिस भएको हो । कारागार सार्ने कि नसार्ने भन्ने विषयमा के निर्णय भयो थाहा भएन । तर, घटना सम्बन्धमा प्रहरीको अनुसन्धान भने जारी छ,’ महाशाखा प्रमुख एसएसपी सिंहले भने ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  २ : ०४ बजे