काठमाडौं वैशाख, २८–
रोल्पा नगरपालिकाको आयोजनामा राजधानी काठमाडौंमा आज एक साहित्यिक कार्यक्रम हुँदैछ । सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्य तथा उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न हुन लागेको रोल्पा काठमाडौं विद्यार्थी सम्पर्क मञ्चका अध्यक्ष दियोजित ओलिले जानकारी गराए ।
उक्त कार्यक्रममा रोल्पा गुराँस साहित्य मेला दोस्रो राष्ट्रिय कविता प्रतियोगिता पुरस्कार वितरण तथा उत्कृष्ट कविका ५ कविता वाचन समेत गरिने कार्यक्रम रहेको उनको भनाइ छ । कालिकास्थानस्थित सर्वनाम थियटरमा दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा साहित्यकार, कलाकार पत्रकार तथा रोल्पालीहरुको जमघट हुने बताईएको छ । रोल्पा नगरपालिकाको आयोजना रहेको कार्यक्रममा नेपाल पर्यटन बोर्ड प्रवद्र्धक, नेपाल टेलिकम साझेदार तथा सेतोपर्दा मिडिया पार्टनर रहेका छन् । त्यस्तै, आजको कार्यक्रममा रोल्पा काठमाडौं सम्पर्क मञ्चले भोलेन्टियरको रुपमा सहयोग गर्ने अध्यक्ष ओलिले जनाए ।
यसअघि रोल्पा नगरपालिकाको आयोजनामा गएको वैशाख १५, १६ र १७ गते जिल्लाको सदरमुकाम लिबाङ र पर्यटकीय क्षेत्र जलजलामा राष्ट्रिय ख्यातीप्राप्त साहित्यकार तथा पत्रकारहरुको सहभागितामा गुराँसे साहित्य मेला सम्पन्न भएको थियो ।
धार्मिक, सांस्कृतिक र राजनीतिक हिसाबले महत्व बोकेको जिल्लाको पर्यटकीय स्थल जलजलाको प्रचारप्रसारसँगै स्थानीय लोक संस्कृतिको विकासका लागि कार्यक्रम कोषेढुंगा सावित भएको रोल्पालीहरुले बताएका छन् ।










