प्रतिनिधिसभा बैठकमा आज प्रि–बजेट छलफल हुँदै



काठमाडौं वैशाख, २९–
प्रतिनिधिसभाको बैठकमा आजदेखि आर्थिक वर्ष २०७६–७७ को प्रि–बजेट छलफल हुँदैछ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटको तयारी लगभग अन्तिम चरणमा पुर्याएको छ । आइतबार दिउँसो २ बजे बस्ने बैठकमा प्रि–बजेट छलफल सुरु हुन लागेको हो । गत शुक्रबार अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

सरकारले नीति तथा कार्यक्रम भन्दा पहिला प्रि–बजेटबारे छलफल गर्ने संसदीय परम्परा भए पनि यस वर्ष नीति कार्यक्रम पारित भएपछि प्रि–बजेटमाथि छलफल गराउन लागेको हो ।

संसद सचिवालयले सोमबार या मंगलबारसम्ममा प्रि–बजेट छलफल सक्ने तयारी रहेको जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेट आउँदो जेठ १५ गते संसदमा पेश हुँदैछ । त्यसको १५ दिन अगावै प्रि–बजेटमाथि छलफल सक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम प्रि–बजेट छलफल हुन लागेको हो ।

प्रकाशित मिति : बैशाख २९, २०७६ आइतबार  ६ : ४० बजे